‘चुनाव भयो भने आँधी हुरी आउँछ भन्नेलाई चुनावी नतिजाले उडाउँनेछ’


     एभरेस्ट आवाज    
     फागुन ९ गते २०७७ मा प्रकाशित




नेपाल कम्युनिष्ट पार्टी नेकपा केन्द्रिय सदस्य तथा गण्डकी सह–इन्र्चाज खगराज अधिकारीले चुनाव भयो भने आँधी हुरी आउँछ भन्नेलाई चुनावी नतिजाले उडाउने बताएका छन्।

नेकपा गण्डकी प्रदेश कमिटीको आयोजनामा फागुन १५ गते हुने बृहत आमसभाको तयारीका लागि पोखरा–१५ मा गरिएको युवा भेलामा बोल्दै नेता अधिकारीले केपी ओली सरकारका राष्ट्रवादी कदमको सबैले सर्मथन गर्नुपर्ने बताए।

राष्ट्रियताको झण्डालाई केपी ओलीले माथि उठाएको भन्दै युवाहरुले साथ दिनुपर्ने उनको भनाइ थियो।

‘प्रचण्ड झलनाथ र माधव नेपालले भूमी फिर्ताबारे केही बोलेनन् केही गरेनन् तर केपी ओलीको सरकार आएपछि च्यातिएको देश जोड्छु र भूमी फर्काउँछु भनेर नक्सा प्रकाशन ग¥यो,’ उनले भने, ‘कालापानी लिपुलेक लिम्पियाधुराबाट भारतीय फौज हटाउँछु भन्ने केपी ओलीलाई युवाले साथ दिनुपर्छ।’

देशलाई एकताबद्ध बनाउनका लागी पार्टी एकता जोगाउन आवश्यक रहेको उनले औंल्याए।
नेकपा केन्द्रीय सदस्य तथा कास्की अध्यक्ष कृष्ण थापाले केपी ओली समूहले फागुन १५ गते गर्ने बृहत् आमसभामा कास्कीले करिब ६० हजार जनता उतार्ने तयारी गरिरहेको भन्दै युवाहरुलाई तयारीमा जुट्न आग्रह गरे।

उनले अब आसन, भाषण र शासनमा युवाहरुको आवश्यकता रहेको औल्याए।
१ सय ५५ जना रहेको कास्की जिल्ला कमिटीमा १ सय ९ जना केपी ओली पक्षमा रहेको थापाले बताए।

यस्तै, पोखरा महानगरपालिकाका मेयर उपमेयर सहित १ सय ७ जना जनप्रतिनिधिसमेत संस्थापनतर्फ रहेको उनको भनाई थियो।

‘कास्कीमा पार्टी फुटेको छैन केपी ओलीको पक्षमा पार्टी छ, तपाई हाम्रो पक्षमा पार्टी छ,’ अध्यक्ष थापाले भने।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य मनबहादुर गुरुङ, नेकपा केन्द्रीय सदस्य बालसिंह काउछामगर, राष्ट्रिय युवा संघ केन्द्रीय सचिव महेन्द्र गुरुङलगायतले बोलेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।