अष्ट्रेलियाको ब्रिसबेनमा ब्लु पार्टीको तयारी


     एभरेस्ट आवाज    
     फागुन ११ गते २०७७ मा प्रकाशित




महाशिवरात्रिको छेको पारेर क्विन्स्ल्यान्ड इन्टरनेसनल इन्स्टिच्युटले ब्रिसबेनमा ‘ब्लु पार्टी, शिव डान्स स्प्रिट’ को तयारी पूरा भएको जानकारी दिएको छ ।


प्राचीन कालदेखि नै नेपालीले महाशिवरात्रि पर्वलाई महत्व दिँदै आएको हुँदा घरदेश बाहिर रहेका नेपाली र भारतीय समुदायलाई लक्षित गरी महाशिवरात्रि उत्सव मनाउन लागिएको हो ।
उत्सवमा डिजे उरी र डिजे रूजालले नेपाली, बलिउड र इलेक्ट्रोनिक डान्स र म्युजिकको दमदार प्रस्तुति दिने जनाइएको छ । उक्त उत्सवमा कोरोना कहरपछिको नवसामान्य अवस्थामा सहभागीहरूले भरपुर मनोरञ्जन लिने विश्वास आयोजक क्युआइआइले जनाएको छ ।
उत्सवलाई ‘ब्लु पार्टी’ नामाकरण गर्नुमा भगवान शिवको निलकण्ठ रूपलाई प्रतीक मानिएको उत्सवका संयोजक मौसम काफ्लेले जानकारी दिए । काफ्लेले थपे ‘भगवान शिवको स्मरणको पवित्र दिनमा उत्सव गर्न विवेकले दिएन’ त्यसैले महाशिवरात्रिको पूर्व सन्ध्यामा उत्सव आयोजना गर्न लागिएको हो ।
फागुन २६ गते अर्थात् मार्च १० तारिख साँझ ९ः३० बजेदेखि बिहान ढिलोसम्म फोर्टिच्युड भ्यालीको दि मेटमा हुने उत्सवमा सहभागी हुन प्रवेश शुल्क १० डलर तिर्नुपर्ने छ ।

ब्रिसबेनमा अवस्थित शैक्षिक संस्था क्विन्सल्यान्ड इन्टरनेसनल इन्स्टिच्युटले उत्सवको सूचना सार्वजनिक गर्नासाथ नेपाली र भारतीय समुदायले उत्साहजनक रूपमा प्रवेश टिकट बुकिङ गरिसकेका छन् । आयोजकले अग्रिम टिकक बुकिङका लागि लिंक समेत उपलब्ध गराएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।