दृढताका साथ समृद्धिको यात्रामा अघि बढ्नेछु : प्रधानमन्त्री


     रासस     
     फागुन १२ गते २०७७ मा प्रकाशित




फाइल तस्विर : प्रधानमन्त्री केपी शर्मा ओली

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै परिस्थितमा पनि आफूहरु दृढताका साथ समृद्धिको यात्रामा अघि बढिरहने बताएका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज आयोजना गरेको ‘नेपालको डिजिटल माटो नक्साङ्कन’ उद्घाटन कार्यक्रममा उनले आफूले लिएको जिम्मेवारी पूरा गर्न जहाँ रहे पनि लागिरहने बताए ।

आगामी आर्थिक वर्षमा दोहोरो अङ्कको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यका साथ सरकार अघि बढिरहेको प्रधानमन्त्री ओलीले बताए । सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्ने र सन् २०२२ सम्ममा देशलाई विकासोन्मुख मुलुकमा रुपान्तरण गर्ने लक्ष्य लिइएको उनले उल्लेख गरे । विभिन्न कृषिजन्य उत्पादनको उत्पादकत्व बढिरहेको उनले उल्लेख गरे । उनले भने, “माछा, मासु, तरकारी र दूधको उत्पादन बढिरहेको छ ।”

नेपाल खाद्यबालीमा आत्मनिर्भर भए पनि सौखिन खानाका कारण आयात भइरहेको उनले बताए । ताजा चामल खान छाडेर मेसिनले बनाएको लामो सिता चामल खाने बानीका कारणले विदेशबाट चामल आयात गर्नुपरेको उनले उल्लेख गरे । ग्रामीण भेगमा पहिलो वर्षको अन्न बीउका लागि र दोस्रो वर्षको अन्न खाने र त्योभन्दा पहिलेको अन्न पौष्टिक तत्व कम भएको भन्दै नखाइने उनले बताए ।

उनले भने , “तर अहिले मेसिनले लामो सिता बनाएपछि पाँच वर्ष पुरानो अन्न पनि खाइएको छ ।”
माटोको अवस्थाबारे तयार पारिएको डिजिटल नक्साका कारण किसानले आफ्नो माटोको अवस्थाका बारेमा बुझेर समस्या भएमा समाधानका उपायका विषयमा विज्ञसँग सल्लाह लिनसक्ने उनले बताए । कृषिमा उपकरणको प्रयोग बढाएर जनशक्ति घटाउनुपर्नेमा उनको जोड छ ।

अहिले कृषिमा जति जनशक्ति क्रियाशील छ त्यो जनशक्ति अन्यत्र लगाउन सकिने उनको भनाइ छ । उनले भने, “कृषि क्षेत्रमा प्रविधिको प्रयोग बढाउँदा मात्रै लागत कम गरेर उत्पादन बढाउन सकिन्छ ।”


कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले सिङ्गो देशको नै माटोको अवस्थाको नक्सा प्रकाशित गर्ने नेपाल दक्षिण एशियाको पहिलो देश हुनु हामी सबैका लागि गर्वको विषय भएको उल्लेख गरे ।

अरु देशले सीमित क्षेत्रको मात्रै यस्तो नक्सा प्रकाशित गरेकामा नेपालले देशभरको नक्सा प्रकाशित गरेको उनको भनाइ छ ।

विगतमा कृषिमा काम गर्नेलाई हेयका दृष्टिले हेर्ने गरेको भए पनि अहिले बिस्तारै त्यसमा परिवर्तन आइरहेको उनको भनाइ छ । उनले भने, “यो तीन वर्षमा यो क्षेत्रमा धेरै कुरा बदलिरहेको छ ।”


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।