बिरामी बोकेको जिप दुर्घटना हुँदा १ को मृत्यु, ४ जना घाइते


     एभरेस्ट आवाज    
     फागुन १४ गते २०७७ मा प्रकाशित




प्रतिकात्मक तस्बीर

म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ४ घाइते भएका छन्।

मालिका गाउँपालिका–३ पात्लेबाट बिरामी लिएर बेनीतर्फ आउँदै गरेको ग१ज ६७८८ नंको जिप सडकबाट म्याग्दी नदीमा खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार मालिका–३ का ६२ वर्षीय गोविन्द रोकाको बेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

रुखबाट लडेर घाइते भएका रोकालाई उपचारका लागि पोखरा ल्याउँदै गरेको जिप दुर्घटना भएको हो। घाइते चालक मालिका–१ निस्कोटका ३० वर्षीय नरबहादुर रोकालाई थप उपचारका लागि पोखरा सिफारिस गरिएको प्रहरी कार्यालयले जनाएको छ।

यसैगरी मालिका–३ पात्लेका २९ वर्षीय रवीन्द्र रोका, २० वर्षीया रेजिना रोका र ३८ वर्षीय खगेन्द्र रोकाको बेनी अस्पतालमा उपचार भइरहेको छ।

चालकबाहेक मृतक र घाइते एकै परिवारका सदस्यहरु हुन्। तातोपानी प्रहरी चौकी, तातोपानी र पखेरका स्थानीय बासिन्दाले घाइतेको उद्धार गरेका थिए। दुर्घटनाबारे अनुसन्धान जारी रहेको प्रहरी कार्यलयले जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।