नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशले आफ्नो छुट्टै कार्यालय भवन निर्माण गरेको छ । महासंघ गण्डकी प्रदेशले पत्रकार महासंघ कास्कीको भवनमा तला थपेर आफ्नो छुट्टै कार्यालय भवन निर्माण गरेको हो । भवनको शुक्रबार नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले उद्घाटन गरे ।
महासंघ गण्डकी प्रदेशले बनाएको कार्यालय भवनमा एउटा प्रेस कन्फरेन्स हलसहित ३ ३ वटा कोठा रहेका छन् । जुन निर्माण गर्न ३५ लाख रुपैयाँ लागेको अध्यक्ष त्रिभूवन पौडेलले जानकारी दिए । उनका अनुसार भवन निर्माणका लागि गण्डकी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले १४ लाख तथा कास्की क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य विद्या भट्टराई अधिकारीले पूर्वाधार क्षेत्र विकास कार्यक्रम अन्तर्गत १० लाख रुपैयाँ प्रदान गरेको छ । त्यसबाहेक पोखरा महानगरपालिकाले ४ लाख रुपैयाँ दिएको छ । त्यस्तै कार्य समितिबाट करीब १ लाख ५० हजार रुपैयाँ संकलन गरेर भवन निर्माणमा खर्च गरिएको छ । भवन निर्माणका लागि थप १० लाख रुपैयाँ भवन निर्माण ठेकेदारलाई तिर्न बाँकी रहेको उनले बताए ।
उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले पत्रकार महासंघको नया नेतृत्वका लागि चैतको पहिलो वा दोश्रो सातासम्म चुनाव हुने बताए । चैत १६ गते महासंघको स्थापना दिवस हो,उनले भने,‘उक्त दिन नव निर्वाचित समितिलाई पदभार ग्रहण गराउनेगरी चुनाव गर्ने तयारी भइरहेको छ ।’ उनले चुनावमा जुनसुकै पार्टी निकटको संगठनबाट टिकट लिएपनि निर्वाचित भइसकेपछि त्यो पार्टी र संगठन बिर्सेर सबैको साझा भएर काम गर्नुपर्ने बताए । उनले विगतमा जिल्लादेखि केन्द्रसम्मको अधिवेशनमा नीतिगत छलफल भन्दापनि राजनीति भएकाले यसपटक साधारण सभा र निर्वाचन छुट्टाछुट्टै गर्न लागिएको बताए । त्यसका लागि महासंघको पोखरा साधारणसभाले विधान नै परिवर्तन गरेर जिल्ला, प्रदेश र केन्द्रको चुनाव एकैदिन गर्ने ब्यबस्था गरेको उनको भनाई छ ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य द्वय रामकृष्ण ज्ञवाली र नवीन कुइकेलले महासंघको चुनाव नजिकिएकाले पत्रकारको हक, हित र अधिकारका लागि लड्नसक्ने नेतृत्व चयनतर्फ पत्रकारहरु केन्द्रीत हुनुपर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष त्रिभूवन पौडेलले आफूहरु निर्वाचित भएर आउँदा कार्यालय भवनसमेत नहुँदा त्यतिबेलै भवन निर्माण गर्ने संकल्प गरेको र त्यो अहिले आएर पूरा गरेकोमा खुशी व्यक्त गरे । निर्वाचित भएलगत्तै महासंघको संस्थापक भएको नाताले महासंघको जग हाल्छु भनेको थिएँ,उनले भने,‘श्रोत र साधनको अभावमा यो चुनौतिपूर्ण थियो, त्यो चुनौति पार गर्दै सम्भव बनाइयो ।’ सुन्दर भवन बनेकाले यसको सुन्दर ढंगबाट सदूपयोग गर्नसक्ने खालको महासंघको नया नेतृत्व आउनुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा महासंघको कार्यालय भवन निर्माणका लागि सहयोग गर्ने प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, सांसद विद्या भट्टराई अधिकारी, पोखरा महानगरपालिका, नेपाल पत्रकार महासंघ कास्की तथा महासंघ गण्डकी प्रदेशका पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको थियो । सो अवसरमा कार्य समितिको तर्फबाट अध्यक्ष पौडेललाईपनि सरप्राइज सम्मान गरिएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







