भागरथी हत्या काण्डका आरोपितको डिएनए परीक्षण गरिँदै


     रासस     
     फागुन १६ गते २०७७ मा प्रकाशित




बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न रहेको आरोपमा प्रहरी हिरासतमा रहेका दिनेश भट्टको डिएनए परीक्षणका लागि पठाइएको छ ।

डिएनए परीक्षणका लागि रगत लगायत आवश्यक पर्ने अन्य वस्तु राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौँ पठाइएको हो ।

डिएनए परीक्षणबाट अनुसन्धानमा आवश्यक परेका थप कुराको पुष्टि हुने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

परीक्षण रिपोर्ट केही दिनमै आउने भएको छ । यसअघि भागरथीको भजाइनल स्वाब पनि प्रयोगशाला पठाइएको भए पनि परीक्षण रिपोर्ट भने आएको छैन । गत माघ २१ गते विद्यालयबाट फर्किएकी भागरथी साँझ घर नपुगेपछि खोजतलास गर्दै जाँदा माघ २२ गते स्थानीय लवलेक जङ्गलमा विभत्स र निर्वस्त्र अवस्थामा फेला परेकी थिइन् ।

त्यसपछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा गत फागुन ५ गते प्रहरीले दिनेशलाई सार्वजनिक गरेको थियो ।

आरोपितको तेस्रोपटक म्याद थप

भागरथीको हत्यामा संलग्न दिनेशमाथि अनुसन्धानका जिल्ला अदालतबाट तेस्रोपटक म्याद थप गरिएको छ ।

अनुसन्धानका लागि प्रहरीले तेस्रोपटक थप पाँच दिनको लागि अनुमति पाएको हो ।
यसअघि फागुन ५ गते पहिलोपटक र फागुन १० गते दोस्रोपटक म्याद थप गरिएको थियो ।

शुक्रबार तेस्रोपटक अनुमति पाएपछि थप अनुसन्धान काम भइरहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।

अनुसन्धानको फाइल केही दिनमै सरकारी वकिल कार्यालयमा बुझाउने तयारी रहेको छ । उनले भने, “आवश्यक पर्ने सबै कुरा जुटाइरहेका छौँ, अनुसन्धानमै छौँ । अहिले नै सबै कुरा भन्न मिल्दैन ।” दिनेश नाबालक रहेकाले २१ दिनभित्र हिरासतमा राखेर अनुसन्धान सक्नुपर्ने हुन्छ । सोहीअनुसार अनुसन्धान कार्य जारी रहेको हो ।

दिनेशले यसअघि प्रहरी, घरपरिवारसहित सरकारी वकिल कार्यालयमा लिइएको बयानमा आफूले नै भारगथीको बलात्कारपछि हत्या गरेको स्वीकारेका थिए । जिल्ला अस्पतालमा गरिएको भागरथीको शव परीक्षण रिपोर्टमा पनि बलात्कारपछि हत्या भएको उल्लेख छ ।

भागरथी दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सनातन धर्म माविमा कक्षा १२ र आरोपित दिनेश पनि सोही विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिए । दिनेश र भागरथी एउटै गाउँका हुन् । उनी दुवैबीच दिदीभाईको नाता पर्दछ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।