फेवातालको क्षेत्रफल ५.७२६ वर्ग किलोमिटर मन्त्रिपरिषद् बाट स्वीकृत


     रासस     
     फागुन १७ गते २०७७ मा प्रकाशित




फाइल तस्विर

काठमाण्डौं । सरकारले पोखराको फेवातालको क्षेत्रफल ५.७२६ वर्ग किलोमिटर कायम गरी चार किल्ला र सिमाना स्वीकृत गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले उक्त जानकारी दिएका हुन् ।

मन्त्रिपरिषद्बाट फेवातालको चार किल्ला निर्धारण, सिमाङ्कन तथा नक्साङ्कन समितिको सिफारिस बमोजिम फेवातालको क्षेत्रफल ५.७२६ वर्ग किलोमिटर (११ हजार २५५ रोपनी ११ आना १ पैसा) कायम गरी चार किल्ला र सिमाना स्वीकृत गर्ने निर्णय भएको हो ।

बैठकले नेपाल न्याय सेवा, न्याय समूहका एक र कानून समूहका दुई राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई प्रथम श्रेणीको सहसचिव वा सो सरहको पदमा बढुवा नियुक्ति तथा पदस्थापना गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को यही फागुन ११ गते बैठकले राष्ट्रिय जनगणना २०७८ को प्रशासनिक व्यवस्थापन तथा आर्थिक सुविधासम्बन्धी (पहिलो संशोधन) मापदण्ड, २०७७ स्वीकृत गर्ने निर्णय गरेका मन्त्री गुरुङले जानकारी दिए ।

बैटकले साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडलाई मल आपूर्ति तथा वितरक संस्थाको रूपमा तोक्ने निर्णय गरेको छ ।

बैठकले अरुण–३ जलविद्युत् परियोजनाको परियोजना विकास सम्झौता संशोधन गर्ने, नेपाल विद्युत् प्राधिकरण, गज्र्याङ्ग–खिम्ती १३२ के.भी. प्रशारण लाइनको राइट अफ वे को दायाँ बायाँ नौ÷नौ मिटर र मल्टिसर्किट टावरदेखि न्यू खिम्ती सवस्टेशनसम्म प्रशारण लाइनको केन्द्र रेखाबाट दायाँ बायाँ १५-१५ मिटर भित्र पर्ने निजी जग्गालगायतका अन्य संरचनाको क्षतिपूर्ति निर्धारण गर्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई अध्यक्ष र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका इलेक्ट्रिकल इञ्जिनीयर नारायण श्रेष्ठलाई सदस्य तोक्ने निर्णय गरेको छ ।

बैठकले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली, २०७७ को मस्यौदा स्वीकृति गर्ने निर्णय गरेको सरकारका प्रवक्ता गुरुङले जानकारी दिए ।

भारतस्थित राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय÷महाविद्यालय÷प्रशिक्षण संस्थासम्बन्धी संरचनाको अध्ययन भ्रमणमा सहभागी हुन राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा तथा सदस्यद्वय प्राडा युवराज सङ्ग्रौला र प्राडा शम्भुराम सिंखडालाई स्वीकृति दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले लुम्विनी बौद्ध विश्वविद्यालयलाई विश्वविद्यालयको ऐकेडेमिक भवन एवं अनुसन्धान केन्द्रको निर्माणका लागि रुपन्देही जिल्लाको देवदह नगरपालिका–८ स्थित जम्मा ६१.२५ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने र तहाँ रहेका १५५३ रुख हटाउन स्वीकृति दिने निर्णय गरेको छ ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रबन्ध सञ्चालकमा दुर्गा भगवती गाउँपालिका–३, रौतहट निवासी अनिलकुमार झालाई नियुक्त गर्न सञ्चालक समितिलाई निर्देशन दिने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए ।

मन्त्रिपरिषद्को यही फागुन १४ गते बसेको बैठकले नेपाल न्याय सेवा, सरकारी वकिल समूह, राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत कृष्णप्रसाद पुडासैनीसमेतका पाँच अधिकृतको राजपत्राङ्कित प्रथम श्रेणीको सहन्यायाधिवक्ताको पदमा बढुवा नियुक्ति तथा पदस्थापन गर्ने निर्णय गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।