तनहुँको सिनो हाइड्रो र मजदूरबीच सहमतिपछि काम शुरु


     एभरेस्ट आवाज    
     फागुन १८ गते २०७७ मा प्रकाशित




तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको प्याकेज–२ अन्तर्गतको निर्माण कम्पनी सिनो हाइड्रो कर्पोरेशन र मजदुरबीच भएको विवाद समाधान भएको छ।

सिनो हाइड्रो र नेपाली मजदुरबीच शुक्रबारदेखि विवाद हुँदा मजदुर आन्दोलनमा उत्रिएपछि दुई दिनदेखि काम अवरुद्ध भएको थियो।

शुक्रबार राति विद्युत्गृहमा चालक पुष्कर थापाले स्काभेटर सफा गर्ने क्रममा पानी उछिट्टिँदा चिनियाँ व्यक्ति भिजेपछि त्यसको प्रतिशोधमा चिनियाँ व्यक्तिले ढुंगा प्रहार गरेका थिए। ढुंगा प्रहारबाट स्काभेटरको सिसा फुटेपछि सिनो हाइड्रो र मजदुरबीच विवाद हुँदा मजदुर आन्दोलनमा उत्रिएका थिए।

सिनो र मजदुरबीच भएको छलफलपछि विवाद समाधान भएको तनहुँ जलविद्युत् आयोजनाका प्रमुख अच्युत घिमिरेले जानकारी दिए। उनका अनुसार स्काभेटरमा ढुंगा प्रहार गर्ने व्यक्तिलाई कारवाही गर्ने, मजदुरको मागबमोजिम जिल्ला दररेट समितिले निर्धारण गरेको पारिश्रमिक उपलब्ध गराउने निर्णय भएको छ। आयोजनाको प्याकेज–१ का लागि निर्माण कम्पनीसँग पनि सम्झौताको तयारी गरिएको छ। पहिलो प्याकेजअन्तर्गतका कामका लागि तीन वटा कम्पनीको बोलपत्र परेकामा एशियाली विकास बैंकले सोङ्दा भियतनाम कालिका जेभीलाई छनोटको स्वीकृति दिएपछि उक्त कम्पनीसँग सम्झौताको तयारी गरिएको आयोजनाले जनाएको छ।

पहिलो प्याकेजअन्तर्गतका कामका लागि लार्सन एण्ड टर्बो इण्डिया, चाइना गेजुवा कम्पनी र सोङ्दा भियतनाम कालिका जेभीले बोलपत्र पेश गरेका थिए। पहिलो प्याकेजअन्तर्गत १४० मिटर अग्लो कंक्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँधलगायतका संरचना निर्माण गरिनेछ। कम्पनीले यसअघि पहिलो प्याकेजका लागि सीएमसीसँग ठेक्का रद्द गरेर पुनः बोलपत्र आह्वान गरेको थियो। प्याकेज–२ अन्तर्गत सिनो हाइड्रो कर्पोरेशन लिमिटेडले काम गरिरहेको छ। प्याकेज–२ अन्तर्गत सिनोले सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ। त्यस्तै प्याकेज–३ अन्तर्गत प्रसारण लाइन निर्माणका लागि ३ करोड खर्च भएको छ। प्रसारण लाइन निर्माणका लागि भारतको केइसी इन्टरनेशनल लिमिटेडले ठेक्का पाएको छ।

आयोजनाले प्रसारण लाइन निर्माणका लागि साढे २३ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने भएकाले त्यसको प्रक्रियालाई समेत अगाडि बढाइसकेको छ। टावर राख्नका लागि ५३ व्यक्तिको जग्गा अधिग्रहण गर्नुपर्नेछ। आयोजनाको प्रसारण लाइन निर्माणका क्रममा टावर राख्नका लागि साढे २३ रोपनी जग्गा अधिग्रहण गरिनेछ भने तार तान्नका लागि २१ हेक्टर क्षेत्रफललाई क्षतिपूर्ति दिइनेछ।

दमौलीदेखि भरतपुरसम्म २ सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ। चालु आर्थिक वर्षमा प्रसारण लाइनका लागि ३० वटा टावर निर्माण गरिनेछ । आयोजनाका लागि १ सय ४० मिटर बाँध, १ हजार १ सय ६२ मिटर र ७४ मिटरको मुख्य सुरुङ, ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ४४ मिटर उचाइ भएको भूमिगत विद्युत्गृह निर्माण गरिनेछ। खुद उचाई १ सय २१ मिटर रहने आयोजनाबाट सुक्खायामा १७८.९० मेगावाट र वर्षायाममा ३२३.६८ मेगावाट ऊर्जा उत्पादन हुनेछ । आयोजनाको कूल लागत ५० करोड ५० लाख अमेरिकी डलर (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) रहेको छ। जाइकाले दोस्रो प्याकेज अन्तर्गतका कामका लागि १८४ मिलियन डलर बेहोर्ने छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।