के पोखराको पर्यटकीय केन्द्र फेवातालको गहिराई साँच्चिकै बढ्ला ? अहिले सर्वत्र चासो बढेको छ । फेवातालको पानी सुकाउँदा अतिक्रमण हुन्छ कि भनेर झस्किएका पोखरेलीले फेवातालको गहिराई बढ्नेमा आशंका व्यक्त गरेका छन् । यस्तो बेला फेवातालको गहिराई बढाउने भनेर माटो निकाल्न शुरु गरिएको छ जतिबेला फेवातालको १ हजार ६ सय १९ रोपनी हराएको भन्दै खोजी भइरहेको छ । फेवाताल चारकिल्ला निर्धारण, सिमाङ्कन तथा नक्साङ्कन समितिले फेवातालको बास्तविक क्षेत्र ११ हजार २ सय ५५ रोपनी ११ आना १ पैसा अर्थात ५.७२६ वर्ग किलोमिटर रहेको जनाएको छ । यो विश्वप्रकाश लामिछानेको प्रतिवेदनमा उल्लेख भएको भन्दा १ हजार ६ सय १९ रोपनी कम हो । लामिछाने प्रतिवेदनमा फेवातालको क्षेत्रफल १२ हजार ८ सय ७४ रोपनी (६.५४ वर्ग कि.मी.) रहेको उल्लेख छ ।
हो यहिबेला फेवातालको माटो निकाल्न शुरु गरिएपनि फेवातालको गहिराई बढ्नेमा पोखरेलीले उत्तिसारो पत्याएका छैनन् । तर आशंकाका बीच मंगलबारदेखि फेवातालबाट माटो निकाल्न शुरु गरिएको छ । फेवातालको बाँध मर्मतसम्भार गर्न फेवातालको पानीको सतह घटाएको मौका पारेर उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको संयोजनमा जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, बृहद जलाधार ब्यबस्थापन कार्यालय, पोखरा महानगरपालिका, जलाधार ब्यबस्थापन कार्यालय तनहुँ र ताल संरक्षण तथा विकास प्राधिकरणको सहकार्यमा आजदेखि फेवातालबाट माटो निकाल्न शुरु गरिएको हो । फेवातालको तल्लो क्षेत्रमा पर्ने फिर्केखोलाबाट आएर थिग्रिएको माटो निकालेर फेवातालबाट माटो निकाल्ने अभियानको मंगलबार विहान शुभारम्भ गरियो । गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल, ताल संरक्षण तथा विकास प्राधिकरणका प्रमुख अनुप गुरुङलगायतको उपस्थितिमा अभियानको शुभारम्भ गरिएको थियो ।
फेवातालमा मिसिने फिर्केखोलाबाट शुरु भएको माटो निकाल्ने अभियान चिसाखोलाहुँदै हर्पनखोला, खहरेखोलासम्म पुग्नेछ । जहाँ ती खोलाहरुले बगाएर ल्याएको ढुंगा, गिट्टी, बालुवालगायतका गेग्रान थुप्रिएर बसेको छ । निकालिएको माटो नजिकै रहेको दबेको क्षेत्र तथा खाल्डाखुल्डी पुरिने जनाइएको छ ।
फेवातालबाट १५ हजार घन मिटर माटो निकाल्ने तयारी गरिएको छ । फेवातालको माटो ठाउँ अनुसार कहिं एक डेढ मिटर त कहिं ४ मिटरसम्म माटो निकाल्ने तयारी गरिएको माटो निकाल्न बनेको फेवातालको माटो ब्यबस्थापन समितिका संयोजक रामकाजी श्रेष्ठले जानकारी दिए । जसका लागि १ करोड ३३ लाख खर्च लाग्ने लागत स्टिमेट आएको उनको भनाई छ । एक्साभेटरको प्रयोग गर्दा करीब २५ लाखमै हुने हो, उनले भने, तर फेवाताल संवेदनशील क्षेत्र भएकाले सबै ठाउँमा एक्साभेटर प्रयोग गर्न नसकिने भएकाले मान्छेको प्रयोग गर्नुपर्ने बाध्यता रहँदा खर्च बढ्छ ।
प्रदेश सरकार, महानगर वा ताल संरक्षण तथा विकास प्राधिकरणसँग बजेट नभएपछि कोमागाने पार्क सौन्दर्यकरणका लागि छुट्याएको २० लाख मध्ये ५ लाख निकालेर काम शुरु गरिएको संयोजक श्रेष्ठले बताए । त्यसपछि फेवा जलाधार क्षेत्र संरक्षणका लागि छुट्याएको रकमपनि तानेर फेवातालको माटो निकाल्न प्रयोग गरिने उनको भनाई छ । त्यसका अलावा तनहुँ जलाधार क्षेत्र संरक्षणका लागि छुट्याएको करीब ३ लाख रकमसमेत माटो निकाल्न प्रयोग गरिने उनले बताए ।
माटो निकाल्नका लागि कुनैपनि तहले बजेट विनियोजन नगरेकाले अहिले तानतुन गरेर काम गर्नुपरेको श्रेष्ठले जानकारी दिए । तर प्रदेश सरकारले फागुन मसान्तसम्ममा काम शुरु नगरेका योजनाहरुको बजेट रकमान्तर गरेर माटो निकाल्नका लागि निकासा गरिदिने आश्वासन दिएको छ । उसो त फेवातालको स्वामित्व रहेको पोखरा महानगरपालिकाले पनि बजेट दिने आश्वासन दिएको छ । तर बजेट नछुट्टिएकाले योजना कार्यान्वयनमा नगएका योजनाको बजेट रकमान्तर गरेर ५० लाख जति दिने आश्वासन दिएको संयोजक श्रेष्ठले बताए । त्यस्तै, सिंचाई डिभिजन कार्यालयलेपनि आफूसँग बजेट नभएपनि तानतुन पारेर बजेट दिने आश्वासन दिएको छ ।
माटो निकाल्ने अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले अहिले निकालिएको माटो फेरी खसेर ताल पुरिने अवस्था आउन नदिइने प्रतिबद्धता व्यक्त गरे । अहिले निकालिएको माटो नजिकैको दबेको क्षेत्र तथा खाल्डाखुल्डी पुरिनेछ, उनले भने,‘त्यसपछि बाँकी रहेको माटोले माछापुच्छ«े, अन्नपूर्ण, सगरमाथालगायतका ८ हजार मिटर भन्दा माथिका हिमालहरुको आकृति बनाइन्छ ।’ ती हिमाल आकृतीहरुमा दुबो रोपेर हरियाली बनाउने र पछि फेवातालमा फुटट्रयाक निर्माणका बेला सोहि माटो प्रयोग गरिने उनको भनाई छ । फेवाताल जोगाउने अभियान हो यो, उनले भने,‘यो अभियानसँगै फेवाताल जोगाउन सरकार लागिपरेको छ, फेवाताल जोगाउन पोखरेली उठे है भन्ने सन्देश दिनुपनि हो ।’ उनले जनताले प्रश्न उठाउन नसक्नेगरी काम गर्न निर्देशनपनि दिए ।
फेवातालको पानीको सतह घटाएलगत्तै माटो निकाल्नुपर्ने भएपनि यसबारे छलफल र निर्णय ढिलो हुँदा अहिले फेवातालको बाँध मर्मत सम्भारको काम सकिएपछि मात्र माटो निकाल्ने अभियानको शुभारम्भ गरिएको छ । जसका कारण पानी जमाउन ढिलाई भएको छ । यद्वपी परिक्षणका लागि पानी जमाउन शुरु गरिसकिएको सिंचाई डिभिजन कार्यालय पोखराका प्रमुख किरण आचार्यले बताए । उनले ४ दिन अघिदेखि पानी जमाउन शुरु भएको र अहिलेसम्म झण्डै शुन्य दशमलव पाँच मिटर पानी जमिसकेको जानकारी दिए । केहि दिनदेखि पोखरामा दैनिक पानी परेका कारण १५ दिनमा जम्नुपर्ने पानी ३÷४ दिनमै जमेको उनको भनाई छ । अबको १ महिना भित्रमा फेवातालको पानी पुरानै अवस्थामा फर्किने उनले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







