गण्डकी प्रदेशकै उत्कृष्ट ‘छरछरे’ झरनाको प्रसार प्रसार गरी पर्यटन बिकास गर्ने उद्देश्यले दोस्रो ‘छरछरे झरना महोत्सव–२०७७’ गरिने भएको छ।
तनहुँको देवघाट गाउँपालिका वडा नं. १ र २ को सीमानामा रहेको ‘छरछरे’ झरनाको प्रचारप्रसारका लागि महोत्सव गर्न लागिएको हो।
‘छरछरे’ झरना पर्यटन विकास संस्थाले यही फागुन २१ गते (शुक्रबार) र २२ गते (शनिबार) महोत्सवको आयोजना गर्न लागेको हो।
जनजातिहरुको बहुल्यता रहेको यस क्षेत्रमा महोत्सवबाट उनीहरुको संस्कृति, परम्पराको पनि प्रसार प्रसार गर्ने अनि नयाँ ठाउँबाट आउने दर्शकहरुका लागि त्यहाँ गिठ्ठा, भ्याकुर, तरुल, सिस्नो, काउनी, सामालगायतका स्थानीय उत्पादनका खानाका परिकार पस्कने बताइएको छ।
प्रथम ‘छरछरे’ झरना महोत्सवबाट झरना वरापरा स्वीमिङ पुल निर्माण गरिएको र दोस्रो महोत्सवको आमदानीबाट त्यसको मर्मतसंभार र थप पुर्वाधारहरु थप्ने योजना छ।
झरनामा क्यानोनिङको सफल परीक्षण गरिनुका साथै महोत्सवपछि क्यानोनिङका लागि झरनामाथिसम्म पुग्ने सिँढी पनि निर्माण गर्ने बताइएको छ। झरना कालिगण्डकीको तिरमै रहेको हुँदा नदीबाट कटान हुनबाट जोगाउन परखालको निर्माण गर्ने तयारी गरिएको छ।
यस्तै, महोत्सवले वडा १ स्थित गोपीटार होम–स्टे र वडा २ मा रहेको करादीप होम–स्टेको पनि प्रचार प्रसारमा टेवा पुग्ने बताइएको छ।
महोत्सवपछि स्थानीयस्तरमै रोजगारीको सिर्जना गर्ने पनि हाम्रो लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापाले बताए। आगामी दिनमा दैनिक २ सयको संख्यामा पर्यटक भित्राउने लक्ष रहेको अध्यक्ष थापाको भनाई छ। स्थानीयलाई गाउँमै रोजगारी उपलब्ध गराउने पालिकाको उद्देश्य रहेको अध्यक्ष थापाले बताए।
गण्डकी प्रदेशका अन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको गाउँपालिकाले जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


लायन्स क्लव अफ पोखरा हेमजाको लायन वर्ष २०२६–२७ का लागि नयाँ कार्यसमिति…






