सांकेतिक तस्बीर
आज (बिहीबार) देशभरका अदालतमा बिदा हुने भएको छ।
सर्वोच्च अदालतको बुधबार बसेको आकस्मिक पूर्ण बैठकले पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक मनाउन शोक बिदा दिएको हो।
प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरासहित सर्वोच्च अदालतमा सबै न्यायाधीशको पूर्ण बैठकले आज (बिहीबार) एक दिन सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरणलाई शोक बिदा दिने निर्णय गरेको सर्वोच्च अदालतका सह–प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिएका छन्।
पूर्वप्रधानन्यायाधीश सिंहको यही फागुन १८ गते साँझ निधन भएको थियो। सर्लाही जिल्लामा १९८८ साल फागुन ३ गते जन्मिएका सिंहले २०१० सालदेखि सरकारी सेवामा अप्रिन्टिसको पदबाट सेवा प्रारम्भ गरी २०५२ साल असोज १० गते प्रधानन्यायाधीश पदमा नियुक्त भएको थियो। उनले २०५३ फागुन ३ गतेसम्म प्रधानन्यायाधीशका रुपमा काम गरेका थिए।
संविधान र कानूनका क्षेत्रमा दख्खल राख्ने निर्भिक, अत्यन्त मिलनसार स्वभावका स्व सिंह न्याय र कानूनका क्षेत्रमा आदर्श व्यक्तित्व थिए। उनको निधनले देशले एउटा सच्चा न्यायप्रेमी गुमाएको सर्वोच्च अदालतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







