महिला अधिकारकर्मी तथा महिला नेतृहरुले राज्यको उच्च पदमा महिला पुग्दैमा महिला हिंसा नरोकिने बताएका छन् । अखिल नेपाल महिला संघ (अनेमसंघ) जिल्ला समिति कास्कीको आयोजनामा सोमबार पोखरामा भएको कार्यक्रममा महिला अधिकारकर्मी तथा नेतृहरुले एकाध महिला राज्यको उच्च पदमा पुग्दैमा महिला हिंसा नरोकिने बताएका हुन् ।
कार्यक्रममा बोल्दै अनेमसंघकी केन्द्रीय संयोजक अमृता थापा मगरले महिला हिंसा न्यूनिकरणमा राज्यले प्रभावकारी कदम नचालेको गुनासो गरिन् । महिला हिंसा न्यूनिकरणका लागि प्रधानमन्त्री केपी शर्मा ओली आफैपनि सकारात्मक नभएको उनको आरोप छ । एकाध महिला राज्यको उच्च पदस्थ पदमा पुगे,उनले भनिन्,‘तर महिलाका समस्या ज्यूँका त्यूँ छ, महिला हिंसा, वलात्कार, घरेलु हिंसा घट्नुको सट्टा झन् बढ्दो छ ।’ उनले महिला हिंसा न्यूनिकरणका लागि पुरुषको एकाधिकार तोडेर महिलालाई आर्थिक, सामाजिक र राजनीतिक रुपमा समान हैसियत दिदै आत्मनिर्भर बनाउन जरुरी रहेकोमा जोड दिइन् । उनले श्रममा समेत महिला र पुरुषमा विभेद भएको भन्दै उक्त विभेद हटाएर समानता कायम गर्नुपर्ने बताए ।
नेकपा प्रचण्ड–माधव समूहका केन्द्रीय सदस्य तथा कास्की ईञ्चार्ज राजकाजी गुरुङ (करण)ले महिला हिंसा न्यूनिकरण गर्दै महिला अधिकार स्थापित गर्ने कुरा कानूनमा भएपनि व्यवहारमा कार्यान्वयन नभएको भन्दै यो कार्यान्वयन नहुनुमा राज्यको कमजोरी भएको टिप्पणी गरे । कानून बन्दैमा यो आफै लागु हुँदैन,उनले भने,‘राज्यका निकायमा बस्नेले यसलाई खुल्ला हृदयले कार्यान्वयन गर्न सक्नुपर्छ, तर त्यस्तो हुन सकेको छैन ।’ उनले सामाजिक न्यायसहित समान हैसियत नदिलाएसम्म महिलाको अवस्था नसुध्रिने बताए । उनले महिलाहरुको सहभागितासँगै नेतृत्वमा हस्तक्षेपकारी भूमिकाको आवश्यक्ता औंल्याए ।
महिला नेतृ तथा नेकपा प्रचण्ड–माधव समूहकी केन्द्रीय सदस्य सीता गिरी ओलीले महिलाको अवस्था पहिले भन्दा अहिले तुलनात्मक रुपमा सुधार भएपनि सोंचेजस्तो हुन नसकेको बताइन् । एकाध महिला राज्यका उदच्च पदस्थ पदमा पुगेपनि महिलाको अवस्था भने ज्यूँका त्यूँ रहेको उनको टिप्पणी थियो । एकाध महिला उच्च पदमा पुग्दैमा महिलाको अधिकार स्थापित हुँदैन रहेछ,उनले भनिन्,‘राष्ट्रपति महिला, सभामुख महिला भए, तर महिला कम भएन, घरेलु हिंसा कम भएको छैन, बलात्कार घटेको छैन । त्यसकारण महिला प्रमुख पदमा पुग्दैमा खुशी हुनुपर्ने कुरा होइन रहेछ ।’
नेकपा प्रचण्ड–माधव समूहका केन्द्रीय सदस्य श्रीनाथ बराललेपनि महिला अधिकार बोलीमा देखिएको तर व्यवहारमा लागु नभएकाले फेरी एकपटक महिलाहरुले बुलन्द आवाज उठाउनुपर्नेमा जोड दिए ।
महिला नेतृ तथा संविधान सभा सदस्य तेजकुमारी पौडेल, गण्डकी प्रदेश सभा सदस्य गायत्री गुरुङ (कुसुम), कार्यक्रमको अध्यक्षता गरेकी अनेमसंघ कास्कीकी अध्यक्ष कल्पना पाण्डे लगायतलेपनि महिला हिंसा, बलात्कार कम गर्नका लागि बलियो कानून बनाउँदै प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । साथै उनीहरुले महिलाको सम्मान, श्रमको ज्यालामा समानता कायम गर्दै राजनीतिक र आर्थिक अधिकार समान बनाउनुपर्नेमा जोड दिएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५ स्थित चैनपुर जङ्गल…






