भकुण्डे खोला भन्दा माथिलाई ताल नमान्दा फेवातालको १६०९ रोपनी घट्यो


     एभरेस्ट आवाज    
     फागुन २५ गते २०७७ मा प्रकाशित




प्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको सरकारले विश्वप्रकाश लामिछाने नेतृत्वमा गठन गरेको ‘फेवाताल संरक्षण उच्चस्तरीय आयोग’ले २०६९ सालमा फेवातालको क्षेत्रफल १२ हजार ८ सय ७४ रोपनी कायम गरेको थियो । तर पून्यप्रसाद पौडेलको संयोजकत्वमा हालै गठन भएको फेवाताल चारकिल्ला निर्धारण, सिमाङ्कन तथा नक्साङ्कन समितिले फेवातालको क्षेत्रफल ११ हजार २ सय ५५ रोपनी कायम ग¥यो । अहिले कायम गरिएको क्षेत्रफल लामिछाने प्रतिवेदनले कायम गरेको क्षेत्रफल भन्दा १ हजार ६ सय ९ रोपनी कम हो ।

फेवातालको अघिल्लो प्रतिवेदनमा देखिएको १ हजार ६ सय ९ रोपनी जमिन कहाँ गयो ? अहिले यसको खोजी भइरहेको छ । नागरिक समाजका अगुवादेखि अधिकांश पोखरेलीले यसको जवाफ मागिरहेका छन् ।

जवाफमा फेवाताल चारकिल्ला निर्धारण, सिमाङ्कन तथा नक्साङ्कन समितिले लामिछाने प्रतिवेदनको सिमाङ्कन र अहिलेको सिमाङ्कन एकै भएको दाबी गर्छन् । यसलाई ‘फेवाताल संरक्षण उच्चस्तरीय आयोग’का तत्कालिन संयोजक विश्वप्रकाश लामिछानेपनि स्वीकार्छन् । त्यसो भए किन फरक प¥यो त दुई प्रतिवेदनको क्षेत्रफल ? यसको चुरो कुरो नागरिक दैनिकले पत्ता लगाएको छ ।

फेवाताल चारकिल्ला निर्धारण, सिमाङ्कन तथा नक्साङ्कन समितिले तालको पूर्वमा ड्यामसाईड, पश्चिममा मोरेबगर, उत्तरमा खपौंदी–चंखपुरबीचको दम्किलो र दक्षिणमा चिसापानी रानीवनलाई चारकिल्ला कायम गरेको छ । तल्लो तटीय क्षेत्र ड्यामसाइड, रानीवन, गौरीघाट, लेकसाइड, गैराको चौतारा, सेदी, खपौंदी, लामीडाँडा, अनदुसमेतको क्षेत्रमा वर्षायामको अधिकतम पानीको किनारालाई तालको सिमाना मानिएको छ । त्यस्तै, फेवातालको मुहानपट्टी मोरेबगरको माछापोखरीबाट उत्तरपूर्वतर्फ हर्पनखोला पार गरी भकुन्डे खोलाको अन्तिम घुम्ती नजिकहुँदै माझथुम ढिस्कोको दक्षिणी भागलाई छोएर पूर्वतर्फ रहेको दलदले ढाप क्षेत्रलाई समेट्दै पामे घाँटीछिना मोटरबाटोसम्म सिमांकन गरिएको छ । तालको सीमा रेखाको परिधी १८ किलोमिटर कायम गरिएको छ ।

फेवाताल चारकिल्ला निर्धारण, सिमाङ्कन तथा नक्साङ्कन समितिको सिमांकन र लामिछाने प्रतिवेदनको सिमांकन लगभग उस्तै छ । यो दुई प्रतिवेदनबीच फरक भनेको भकुण्डे खोला तालमा पर्छ कि पर्दैन भन्ने मात्रै देखिएको छ । लामिछाने प्रतिवेदनलाई भकुण्डे खोलालाई तालको श्रोतको रुपमा मानेर त्यसलाई तालमै राखेर सिमांकन गरेको छ । तर पौडेल नेतृत्वको फेवाताल चारकिल्ला निर्धारण, सिमाङ्कन तथा नक्साङ्कन समितिले भकुण्डे खोलालाई ताल क्षेत्र नभएकाले त्यसलाई तालको क्षेत्रफलमा समेटेको छैन ।

लामिछाने प्रतिवेदनका नेतृत्वकर्ता विश्वप्रकाश लामिछाने भकुण्डे खोला र त्यस आसपासको क्षेत्र तालकै भएको बताउँछन् । उनी भन्छन्,‘यो पहिले ताल नै थियो, तर कालान्तरमा ढापमा परिणत भयो ।’ भकुण्डे खोलामात्र नभई त्यसभन्दा माथिको क्षेत्रपनि तालकै भएको उनको दाबी छ । २०३१ साल भन्दा अगाडि ताल भएको सो क्षेत्र पछि २०३१ सालमा फेवातालको बाँध फुटेर ताल सुक्दा स्थानियले तालको जग्गा अतिक्रमण गर्दै २०३२÷३३ सालमा नापी हुँदा सो जग्गा दुषित रुपमा आफ्नो नाममा दर्ता उनको भनाई छ । आफ्नो प्रतिवेदनले स्पष्ट किटान गरी त्यस क्षेत्रमा कुल २ हजार १ सय ५ रोपनी जमिन रहेको र त्यसमध्ये ५ सय ४० रोपनीमा स्थानियले १९९० सालदेखि नै तिरो तिर्दै आउनुका साथै भोगचलनसमेत गर्दै आएको पाइएकाले सो जग्गालाई व्यक्तिकै नाममा राख्दा त्यसबाहेकको १ हजार ५ सय ६५ रोपनी जमिन तालमा राखिएको उनले प्रष्ट्याए । त्यसबाहेक सोहि क्षेत्र नजिक रहेको १२७ रोपनी जमिनसमेत त्यसरी नै अन्य व्यक्तिले दुषित रुपमा दर्ता गरेकाले सो जमिनलाईपनि तालमा समेटिएको उनको भनाई छ । उनले ति दुषित रुपमा दर्ता भएको जग्गाको लालपुर्जा नै खारेज गर्नुपर्ने बताए ।

फेवाताल चारकिल्ला निर्धारण, सिमाङ्कन तथा नक्साङ्कन समितिका संयोजक पून्यप्रसाद पौडेल भने सो जग्गा तालको हुनै नसक्ने ठोकुवा गर्छन् । भकुण्डे खोला २०१० सालदेखि आफ्नो स्वरुप परिवर्तन नगरी निरन्तर एउटै धारमा हिंडेको र तालले सो खोलालाई कहिल्यै छोएको नदेखिएकाले त्यस क्षेत्रलाई तालको क्षेत्रफलमा नसमेटिएको उनको भनाई छ । यहि समितिका सदस्य सचिव तथा नापी विभागका ईञ्जिनियर खिमलाल गौतमपनि भकुण्डे खोलालाई ताल मान्न नसकिने बताउँछन् । सबैखोला ताल हुन सक्दैन,उनले भने,‘खोलाले लामो समयसम्म स्वरुप वा धार परिवर्तन नगरेकाले त्यहाँ ताल मिसिएको मान्न सकिदैन, त्यो ताल क्षेत्र होइन ।’ यो समितिले फेवातालको सिमांकन सकिएकाले अब दुषित जग्गा छानविन गरिरहेको भन्दै अहिल्यै फेवातालको जमिन हरायो भन्दै नकुर्लिन आग्रह गरेको छ । समितिका सदस्य सचिव गौतमले भने,‘हामीले पहिलो चरणमा सिमांकन मात्रै गरेका हौं, दुषित जग्गा छन् भने हामी खोज्दैछौं त्योपनि पत्ता लगाएरै छोड्छौं ।’

२०३२ सालमा पहिलो कित्ता नापी हुँदा कित्ता नम्बर २९७ मा रहेको फेवातालको क्षेत्रफल ४.४३ वर्गकिमि देखिएको छ भने २०३८ मा नेपाल सरकार र यूएनडीपीको अध्ययन प्रतिवेदनले तालको क्षेत्रफल ५.८ वर्गकिमि भनेको छ । २०५२ मा सार्वजनिक भएको आईयूसीएनको प्रतिवेदनमा तालको क्षेत्रफल ४.४९ वर्गकिमि तोकेको छ ।

२०५८ मा कास्कीको तत्कालीन जिल्ला विकास समितिले ताल नापजाँच ४.२५ वर्गकिमि छ । २०६४ मा पोखरा उपत्यका नगर विकास समितिले गरेको सर्भेबाट तालको क्षेत्रफल ५.०६ वर्गकिमि देखिन्छ ।

२०६८ सालमा गठित विश्वप्रकाश लामिछाने नेतृत्वको समितिले फेवातालको बाँध फुट्नुअघि २०३१ साललाई आधार बनाएर तालको क्षेत्रफल ६.५ वर्ग किलोमिटर तोकेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।