सिर्जना विकास केन्द्रले बनायो रणनीतिक योजना


     एभरेस्ट आवाज    
     फागुन २५ गते २०७७ मा प्रकाशित




पोखरा । सिर्जना विकास केन्द्रले रणनीतिक योजना परामर्श गोष्ठी आइतबार र सोमबार अन्नपूर्ण गाउँपालिकाको नागडाँडामा सम्पन्न गरेको छ । सृजना विकास केन्द्रको योजना तर्जुमा उच्चस्तरीय समितिले गोष्ठी आयोजना गरेको हो

गोष्ठीले ८ बुँदे घोषणा पत्र जारी गरेको छ । संस्थालाई समय अनुकुल परिमार्जन गर्दै दिगो विकास लक्ष्य प्राप्तिमा सहयोग पु¥याउने, लक्षित वर्गलाई जीवनोपयोगी शिक्षा प्रदान गर्ने, युवाहरुको सशक्तीकरण सहित खेलकुद सम्बन्धि कार्यक्रम गर्ने, पर्यावरणीय प्रभावलाई न्युनीकरण गर्न सक्रिय भूमिका निर्वाह गर्ने घोषणापत्रमा उल्लेख छ ।

स्वास्थ्य सम्बन्धी चेतना अभिवृद्धि गर्न विविध क्रियाकलाप सञ्चालन गर्ने, कृषि र पर्यटनलाई मध्यनजर गर्दै उत्पादनमुखी कार्यक्रम सञ्चालन गर्ने, संस्थामा उपलव्ध मानव संसाधनलाई अधिकतम उपयोग र विकास गर्ने र इतिहाँस, वर्तमान र भविष्यलाई समेट्ने गरी वृत्तचित्र तयार गर्ने घोषणापत्रमा समेटिएको छ ।


कार्यक्रमको उद्घाटन गर्दै संस्थाका अध्यक्ष इन्द्रप्रसाद पौडेलले संस्थाको दीर्घकालीन योजना निर्माणलाई आफ्नो कार्यकालभर प्रभावकारी रुपमा अगाडि बढाउने बताए । पहिले भएका कामलाई निरन्तरता दिँदै थप नयाँ कामको पनि थालनी हुने उनले जनाए । योजना तर्जुमा उच्चस्तरीय समितिका संयोजक एवं संस्थाका संस्थापक अध्यक्ष डम्बरबहादुर केसीले घोषणापत्रमा भएका योजनालाई प्राथमिकतामा राखेर समय सान्दर्भिक गतिविधि सञ्चालन गर्ने बताए ।

गोष्ठीमा शिक्षा तथा संस्कृति विषयमा हरिप्रसाद बराल, युवा तथा खेलकुदमा वीरेन्द्रनारायण विजुक्छे, संस्थागत विकासमा विष्णुप्रसाद बराल र स्वास्थ्य तथा वातावरणमा रुद्रनाथ बरालले सहजकर्ताको भूमिका खेलेका थिए भने गाष्ठीमा भएका गतिविधीहरु रिपोर्टिङ्ग गरि तयार पार्ने काम संस्थाका पूर्व अध्यक्ष विरवहादुर अधिकारीले गरेका थिए । कार्यक्रममा निवर्तमान अध्यक्ष मीनप्रसाद भट्टराई, पूर्व द्वितीय उपाध्यक्ष पार्वती बराल, सल्लाहकार सभापति सोमनाथ बराल लगायतले बोलेका थिए । गोष्ठीमा ४० जनाको उपस्थिति रहेको थियो ।

संस्थाले विगत ४० वर्षदेखि महिला तथा बालबालिका, युवा तथा खेलकुद, स्वास्थ्य, शिक्षा लगायत क्षेत्रमा सामाजिक काम गर्दै आएको छ । पोखराको सिमलचौरमा कार्यालय रहेको संस्थाले आफ्नै बालगृह र खानेपानी परियोजना सञ्चालन गरिरहेको छ । यसअघि संस्थाले बैंकिङ कार्यक्रम समेत सञ्चालन गर्दै आएको थियो । सिर्जना बहिरा विद्यालयको स्थापना समेत संस्थाले नै गरेको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।