हिमालय मावि गोर्खाको नव निर्मित भवनको उद्घाटन


     एभरेस्ट आवाज    
     फागुन २६ गते २०७७ मा प्रकाशित




पोखरा । गोरखाको हिमालय मा.वि.को नवनिर्मित भवनको उद्घाटन गरिएको छ । गोरखाको सहीद लखन गाउँपालिका वडा नं ६ स्थित धैरुम बाँसकोटमा रहेको हिमालय माविको नवनिर्मित भवनको बुधबार पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई र भारतीय दुतावासका प्रथम सचिव अरुम बंशलले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

बुधबार उद्घाटन गरिएको भवन भारतीय दुतावासको सहयोगमा बनेको हो । सो भवन ४ करोड ८२ लाखको लागतमा निर्माण भएको जनाइएको छ । भवन निर्माणका लागि भएको खर्च मध्ये बाँकी रहेको अन्तिम किस्ता बापतको १ करोड ८ लाखको चेक बुधबारै भारतीय दुतावासका अरुम बंशलले जिल्ला समन्वय समिति गोरखाका प्रमुखलाई हस्तान्तरण गरे ।

कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री भट्टराईले आफ्नो पहलमा सुरु गरेको भवन निर्माण सम्पन्न भएकोमा खुशी व्यक्त गरे । उनले विद्यालय भवन निर्माणका लागि सहयोग गर्ने भारतीय दुतावासलाई धन्यवाद दिए ।

गोर्खा क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य (सांसद) हरि अधिकारी, जिल्ला समन्वय समितिका अशोक गुरुङ, पर्यटन व्यवसायी एवम् समाजसेवी गोपालबाबु श्रेष्ठ र विद्यालयका प्रधानाध्यापक सीताराम ढकालले समग्र विद्यालयका बारेमा बोलेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णमान श्रेष्ठको अध्यक्षतामा भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।