आहा ! रारा गोल्डकप चैत २१ देखि २८ सम्म हुने


     एभरेस्ट आवाज    
     फागुन २९ गते २०७७ मा प्रकाशित




पोखरामा हुने आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिता यस वर्ष चैत २१ गतेदेखि मात्र हुने भएको छ । चैत १७ गतेदेखि हुने भनिएको प्रतियोगिता सहभागि टीम थोरै भएपछि चैत २१ गतेदेखि २८ गतेसम्म हुने आयोजक सहारा क्लव पोखराले जनाएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९) को असरका कारण ४ टीम घट्दा प्रतियोगिता अवधी घटाउँदै उद्घाटन मिति सारिएको क्लवले स्पष्ट पारेको छ ।

प्रतियोगितामा यस वर्ष ८ टीम मात्र सहभागि हुने भएका छन् । यसअघी प्रतियोगितामा १२ टीमले सहभागिता जनाउँदै आएका थिए । यद्वपी अघिल्लो वर्षपनि कोरोना र एन्फाले १० दिनको मात्रै प्रतियोगिताको समय अवधी दिदा १० टीम सहभागि थिए ।

प्रतियोगितामा यस वर्ष डिफेण्डिङ च्याम्पीयन मनाङमस्र्याङ्दी क्लवसहित गत वर्षको उपबिजेता नेपाल पुलिस क्लव, थ्रीस्टार क्लव, सशस्त्र प्रहरीको एपिएफ क्लव, संकटा क्लव, मच्छिन्द्र क्लव, आयोजक सहारा क्लव र क्यामरुनको डउलास्थित अफ्रिकन रुट एशोसियसन सहभागि हुने क्लवका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए । क्यारुनी टीम अफ्रिकन रुट एशोसियसनले सहभागिताका लागि टीम दर्ता गराइसकेको उनले बताए । क्यामरुनी टीम त्यहाँको अब्बल टीम भएको उनको दाबी छ ।

१० दिनसम्म पोखरा रंगशालास्थित फुटबल स्टेडियममा हुने प्रतियोगितामा स्वास्थ्य सचेतता अप्नाउँदै खेल खेलाइने सहारा क्लवले जनाएको छ । कोरोना संक्रमणको जोखिम कम गर्दै प्रतियोगिता गर्न एन्फाले अनुमति दिए अनुसार दर्शक तथा पाहुनालाई एक सिट ग्याप राखेर बसाइने क्लवका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार यस वर्ष प्याराफिटको क्षमता भन्दा आधा मात्र दर्शक राखेर प्रतियोगिता गरिनेछ ।

प्रतियोगिताको बिजेतालाई १० लाख १ हजार र उपबिजेताले ५ लाख १ हजार प्राप्त गर्ने आयोजक सहारा क्लवले जनाएको छ । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई अप्रिला स्कुटर प्रदान गरिनेछ भने प्रतियोगितामा उत्कृष्ट स्ट्राइकर, मिड फिल्डर, डिफेन्डर, गोलकिपर र उत्कृष्ट प्रशिक्षकलाईपनि नगदसहित पुरस्कृत गरिने क्लवका अध्यक्ष थापाले जानकारी दिए ।

प्रतियोगिताको अवसरमा सहारा क्लवले सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी २०७७ बाट एकजना खेलाडीलाई नगद ३५ हजारसहित दोषल्ला र ताम्रपत्र प्रदान गरेर सम्मान गर्ने जनाइएको छ ।

प्रतियोगिता सम्पन्न गर्न १ करोड १ लाख ८१ हजार खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताबाट १ करोड २९ लाख १ हजार रुपैयाँ आम्दानी गरेर २७ लाख २० हजार बचत गर्ने लक्ष्य लिइएको क्लवका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।

२०५८ सालमा क्याराभान गोल्डकपबाट शुरु भएको प्रतियोगिताको यस वर्षको संस्करणलाई पनि हिमश्री फुड्स प्रालिको उत्पादन आहा ! र रारा चाउचाउले मुख्य प्रायोजन गर्ने भएको छ । प्रतियोगिताबाट बचत भएको रकम प्रतियोगिता आयोजक सहारा क्लवले सञ्चालन गरेको सहारा एकेडेमीमा खर्च गरिने जनाइएको छ । पोखरा महानगरपालिका वडा नम्बर १७ दोबिल्लामा रहेको सहारा एकेडेमीमा हाल १४ जिल्लाका २४ जना असहायः बालकहरु आश्रित छन् । उनीहरुलाई शिक्षा, दीक्षा, खेलकुद प्रशिक्षणलगायत निःशुल्क रुपमा गरिदै आएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।