जित प्रसाद द्वा पत्रकारिता पुरस्कारबाट सिग्देल पुरस्कृत


     एभरेस्ट आवाज    
     फागुन २९ गते २०७७ मा प्रकाशित




पोखरा । जित प्रसाद द्वा पत्रकारिता पुरस्कार २०७७ बाट पत्रकार श्रीराम सिग्देल पुरस्कृत भएका छन् ।

चलचित्र पत्रकार संघ नेपाल कास्कीले आयोजना गरेको चौंथो वार्षिक साधारण सभा तथा पुरस्कार अर्पण कार्यक्रममा सिग्देल पुरस्कृत भएका हुन् । उनलाई प्रमुख अतिथि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले ताम्रपत्र, दोसल्ला, माला, अबिर र नगद सहित सम्मान गरे ।

लामो समय देखि पोखरामा रहेर चलचित्र क्षेत्रमा अनवरत कलम चलाएको भन्दै उनलाई नगद २५ हजार सहित सम्मान गरिएको हो ।२०५४ सालबाट आदर्श समाज राष्ट्रिय दैनिकबाट पत्रकारिता शुरु गरेका सिग्देल चलचित्र पत्रकार संघ कास्कीका संस्थापक अध्यक्ष हुन् । उनकै नेतृत्वमा २०६० असार २२ गते चलचित्र पत्रकार संघ कास्कीको स्थापना भएको थियो । हाल उनी फेवा पोस्ट साप्ताहिकको सह—सम्पादक हुन् ।

पुरस्कार अर्पण गर्दै सिग्देलले अरुण गिरीको नेतृत्वमा बनेको नयाँ टिमले उदाहरणीय कार्य गरेको बताए । उनले आफु र आफ्नो टीमले ०६० सालमा स्थापना गरेको संस्थाको प्रगती भएको देख्दा खुशी लागेको बताए । उनले जित प्रसाद द्वा पत्रकारिता पुरस्कार स्थापनामा महत्वपूर्ण भूमिका निभाउने द्वा परिवारलाई धन्यवाद दिएका छन् ।

आज आफु ९२ वर्षीय जित प्रसाद द्वाको नाममा स्थापना भएको पुरस्कारबाट सम्मानित हुँन पाउँदा खुशीको सिमा नरहेको उनले बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा पुरस्कार छनोट समितिका संयोजक रामकृष्ण ज्ञवालीले पुरस्कृत व्यक्ति सिग्देलको परिचय प्रस्तुत गरेका थिए । साथै उनले शुभकामना दिँदै पोखराको पर्यटन क्षेत्रमा चलचित्रका माध्यम ठूलो फड्को मार्न सक्ने कुरामा जोड दिए ।

कार्यक्रममा पुरस्कारदाता जित प्रसाद द्वा र कलाकार प्रकाश घिमिरेलाई संघले सम्मान गरेको थियो । संघको पहलमा जित प्रसाद द्वा पत्रकारिता पुरस्कार स्थापनामा गरेका जित प्रसाद द्वालाई दोसल्ला, ताम्रपत्र, माला र अबिर सहित सम्मान गरिएको थियो ।

पुरस्कार दाता द्वाका सुपुत्रको निधन भएको ४५ दिन नपुगेकाले कार्यक्रममा उनको भौतिक उपस्थिति हुन सकेन । जसलाई मिडटाउन सिनेमाजका प्रतिनिधिले ग्रहण गरेका थिए ।

जित प्रसाद द्वाका विषयमा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले बोलेका थिए । उनले चलचित्र क्षेत्रको विकासमा चलचित्र पत्रकार संघ कास्कीले उदाहरणीय काम गर्दै जानेमा आफु विश्वस्त रहेको उल्लेख गरे ।

यस्तै, लामो समय देखि गण्डकी प्रदेशलाई प्रतिनिधित्व गर्दै चलचित्र क्षेत्रमा कलाकारिताका माध्यम पुर्याएको अतुलनिय योगदानको कदर गर्दै कलाकार घिमिरेलाई संघले सम्मान गरेको थियो । उनका विषयमा चलचित्र पत्रकार संघ कास्कीका सल्लाहकार राजाराम पौडेलले परिचय दिएका थिए ।

सम्मान ग्रहण गर्दै घिमिरेले चलचित्र पत्रकार संघको उज्जवल भविष्यको कामना गरे । घिमिरेले आफु चलचित्र क्षेत्रको उन्नयन र विकासमा कलाकारिताकै माध्यम अनवरत खटिने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा चलचित्र पत्रकार संघ नेपालका उपाध्यक्ष जीवन पराजुली,नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष त्रिभुवन पौडेल, संचारिका समूहबाट बिमला भण्डारी, गुरुङ फिल्म एशोसियसन (जिफान) का अध्यक्ष भोजबहादुर गुरुङ लगायतले बोलेका थिए ।

संघको चौंथो साधारण सभामा २०७६ माघ २८ गतेदेखि २०७७ फागुन २९ गतेसम्मको एक वर्षको वार्षिक कार्यक्रमको प्रतिवेदनलाई अध्यक्ष अरुण गिरीले प्रस्तुत गरेका थिए ।

यस्तै सभाको बन्द सत्रमा आर्थिक प्रतिवेदनलाई कोषाध्यक्ष अर्पण तिवारीले पेश गरेका थिए । औपचारिक कार्यक्रमको संचालन सचिव प्रभु अधिकारीले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।