पशुपतिनाथमा विशेष पूजा गराउनेको आकर्षण


     एभरेस्ट आवाज    
     चैत्र ४ गते २०७७ मा प्रकाशित




काठमाडौँ। पशुपतिनाथ मन्दिरमा ११ महिनापछि शुरु भएको विशेष पूजामा भक्तजनको आकर्षण बढ्न थालेको छ । गत वर्ष चैतदेखि रोकिएको विशेष पूजा यस वर्ष महाशिवरात्रिको दुई दिनअघि गत फागुन २५ गतेदेखि मात्र शुरु भएको थियो । विशेष पूजा शुरु भएपछि सोमबार र शनिबार भक्तजनको भीड बढ्न थालेको छ । कोरोना जोखिमका कारण भारतीय भक्तजन नआए पनि नेपाली दर्शनार्थीले नै विशेष पूजा गराउन क्रम बढ्न थालेको हो ।

महाशिवरात्रिका दिनमात्र पशुपतिनाथ मन्दिरमा रु ३१ लाख १२ हजार ३०० को विशेष पूजा भएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले राससलाई जानकारी दिए। महाशिवरात्रिका दिन रु पाँच हजार १०० र रु ११ हजार गरी दुई किसिमका रसिद काटी विशेष पूजा गरिएको थियो । रु पाँच हजार १०० को विशेष पूजा ३७५ र रु ११ हजारको विशेष पूजा ११० जना भक्तजनले गरेको उनले सुनाए । रु पाँच हजार १०० को पूजा गर्ने दुईजना कर्ता र रु ११ हजारको पूजा गर्ने चारजना कर्तालाई महाशिवरात्रिका दिन पशुपतिनाथ मूल मन्दिरमा दर्शन गर्ने व्यवस्था गरिएको थियो ।

पछिल्लो समय रु एक हजार १०० देखि रु २७ हजारसम्मको विशेष पूजा रसिद काटेर गर्न थालिएको छ । पशुपतिनाथ मन्दिरमा रु एक हजार १०० देखि रु २५ लाखसम्मको विशेष पूजा हुने गरेको छ । कोषले महाशिवरात्रिका अवसर पारेर स्वास्थ्य सुरक्षाका विधि अपनाउँदै विशेष पूजा खुला गरेको हो। कोषले विशेष पूजाको रसिद काटेर पूजा गराउने विधि छ । विशेष पूजाबाट कोषलाई वार्षिक रु नौदेखि रु १० करोडसम्म आम्दानी हुने गरेको छ । आर्थिक वर्ष २०७५-७६ मा विशेष पूजाबाट रु नौ करोड ४० लाख ९३ हजार १४५ आम्दानी भएको थियो । गत वर्ष चैतदेखि नै कोरोनाका कारण विशेष पूजा रोकिएको थियो ।

कोरोनाका कारण करीब नौ महिना मन्दिरसमेत बन्द भई विशेष पूजा रोकिँदा पनि रु छ करोड एक लाख ८९ हजार ४७५ आय भएको कोषाध्यक्ष थापाले बताए । कोरोना जोखिमका कारण यस वर्ष महाशिवरात्रिमा पनि पशुपतिनाथ मन्दिरमा कम भक्तजन आएका छन् जसका कारण पशुपतिको महाशिवरात्रिका दिनको आयमा प्रभाव परेको कोषले जनाएको छ । गत वर्ष महाशिवरात्रिका दिन रु १० लाखभन्दा बढी भेटी उठेको थियो ।

यस वर्ष भने रु छ लाखको हाराहारीमा मात्र जम्मा भएको जनाइएको छ । महाशिवरात्रिको दिनदेखि पशुपतिनाथ मन्दिर साबिकअनुसार खुला भइसकेको छ । मन्दिर बिहान ५देखि बेलुकी ७ बजेसम्म खुला हुन थालेको छ । गत वर्ष चैत ११ देखि बन्द रहेको मन्दिर नौ महिनापछि पुस १ गतेदेखि बिहान ६ देखि दिउँसो २ बजेसम्म मात्र खुला हुने गरेको थियो । यसबीचमा पशुपतिनाथ मन्दिरको नित्य पूजा र भोगका समयमा करीब एक घण्टा मन्दिर बन्द हुने गरेको छ । महाशिवरात्रिका अवसरमा फागुन २७ गतेदेखि भने साबिकअनुसार नै मन्दिर खुला भइरहेको कोषले जनाएको छ । (रासस)


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।