‘बिपी र जिपीलाई मान्ने तर समाजवादी धार नअंगाल्ने कांग्रेसले श्रमिकलाई स्थान दिदैन’

- श्रमिकको अवस्था नसुध्रिनु दुर्भाग्य : यादव


     एभरेस्ट आवाज    
     चैत्र ७ गते २०७७ मा प्रकाशित




नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिका कार्यवाहक अध्यक्ष महेन्द्रप्रसाद यादवले नेपाली श्रमिकको सामान्य अवस्थासमेत सुध्रन नसक्नु देशको लागि दुर्भाग्य भएको बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसका संस्थापक स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवसको अवसरमा ट्रेड युनियन नेता यादवले बीपीको नाम जप्ने, गिरिजाप्रसादको फोटो झुन्ड्याउने तर समाजवादको धार अंगाल्न नसक्ने कांग्रेस पार्टीले श्रमिकलाई स्थान दिनै नसक्ने बताए । उनले भने, ‘हामी कांग्रेससँग नजिकमात्र हो, पार्टीसँग हाम्रो सधै चेतावनीमा चलेको छ ।’ यादवले थपे, ‘योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा लक्ष्मण दाईले जति गर्नु भयो, त्यसलाई कांगे्रसले गर्न सकेन ।’ ‘कांग्रेस प्रजातन्त र लोकतन्त्रमा विश्वास गरेकाले हाम्रो समर्थन हो ।’ नेता यादवले ओली सरकारले पोलपोलमा नयाँ युग भन्दै फोटो टाँसेपनि ९० प्रतिशत नेपाली श्रमिक सामाजिक सुरक्षा सुविधाबाट बञ्चित भएको धारणा राखे । नेता यादवले निजी क्षेत्रलाई हवाला दिँदै स्वरोजगार, असंगठित र स्वयं सरकारबाटै करारमा सेवा गर्नेहरुमाथि समेत चरम विभेद भएको बताए ।
नेपाल ट्रेड युनियन कांग्रेस कास्कीको आयोजनामा भएको सभामा कार्यवाहक अध्यक्ष यादवले सदस्य संख्या बृद्धि गर्दै बार्गेनिङ पावर बढाउन जिल्ला र प्रदेश समितिलाई निर्देशन दिए । कोभिडले चुनौति र अवसर दुवै दिएको भएपनि श्रमिकको सवालमा सरकार अभिभावक बन्नै नसकेको चर्चा गरे । महामारी कसैको बहसमा नभएको भन्दै नेता यादवले जिल्ला तहमै जगेडा कोष स्थापना गरेर श्रमिकलाई राहत दिन सक्नु पर्ने बताए ।
जिल्ला अध्यक्ष विजयराज भण्डारीको अध्यक्षतामा भएको स्मृति दिवसमा नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिका उपमहासचिव राधिका कुँइकेल, एनटियुसी गण्डकी प्रदेश अध्यक्ष मुरारी शर्मा, एनटियुसीका केन्द्रीय सदस्य जीतबहादुर गुरुङ, वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष ज्ञाज शर्मा, जिल्ला सचिव रुद्रप्रसाद तिमिल्सिना लगायतले बोलेका थिए ।
स्मृति दिवसमा २०४८ मा बनेको श्रम ऐन र २०४९ मा बनेको ट्रेड युनियन ऐनले दिएको अधिकारसमेत वर्तमान सरकारले खोस्दै लगेको आरोप लगाएका थिए । सभामा देशमा भएको हरेक पटकको परिवर्तनमा ट्रेड युनियन कांग्रेसको भूमिका बृहत् रहेपनि सरकारको कार्यशैली गलत बन्दा श्रमिक सधै मारमा पर्ने गरेको भनाई उल्लेख गरिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।