पोखरा । पोखरामा आयोजना हुन लागेको लेखनाथ खास्टे ताल महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।
पोखरा महानगरपालिका वडा नम्बर २६ स्थित खास्टे तालको संरक्षण गर्ने उद्धेश्यले चैत १२ गतेदेखि २२ गतेसम्म हुने खास्टे ताल महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजक खास्टे तथा न्यूरेनी ताल संरक्षण विकास समितिले सोमबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
राष्ट्रिय संगीतकर्मी संघको ब्यवस्थापनमा हुने महोत्सव खास्टे र न्यूरेनी ताल किनारमा हुने आयोजकले जनाएको छ ।
सरकारले सभा, सम्मेलन, जमघट, मेला, महोत्सव नगर्न अपिल गरेपनि आफूहरुले सरकारले तोकेको प्रोटोकल (मापदण्ड) पूरा गरेर महोत्सव गर्न लागेको उनले बताए । उनका अनुसार महोत्सवमा भौतिक दुरी २ मिटर कायम गर्न प्रयास गर्ने, मास्क अनिवार्य लगाउने तथा साबुन पानीले हात धुने र आवश्यक्ता अनुसार सेनिटाइजर प्रयोग गरिनेछ ।
‘खास्टे जाँउ माछा खाँउ’ भन्ने मूल नारासहित हुने महोत्सवको मूख्य उद्देश्य खास्टे र न्यूरेनी तालको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने रहेको खास्टे तथा न्यूरेनी ताल संरक्षण विकास समितिका अध्यक्ष हरिप्रसाद अधिकारीले बताए । त्यस्तै महोत्सव मार्फत आन्तरिक पर्यटन चलायमान गराउनेसमेत आफूहरुको उद्देश्य रहेको उनको भनाई छ ।
त्यतिमात्र होइन तालको संरक्षण, विकास, सिमसार र जैविक विविधताको रेखदेख गरि पर्यटन आवागमनमा बृद्धि गर्ने, राष्ट्रिय कला, संस्कृति संरक्षण, मत्स्य उत्पादन, चराचुरुङ्गीहरुको बासस्थान संरक्षण र बृद्धि गर्नेपनि आफूहरुको उद्देश्य रहेको उनले बताए ।
यसैगरी खास्टे तथा न्यूरेनी ताललाई राष्ट्रिय स्तरमा चिनाउँदै यसलाई महत्वपूर्ण पर्यटकीय गन्तव्यको रुपमा चिनाउनुपनि महोत्सवको उद्धेश्य रहेको उनले प्रष्ट्याए ।
महोत्सवमा ११० स्टल रहने जनाइएको छ । जसमा स्थानिय जातका माछाका स्टलहरुदेखि स्थानिय कृषि उत्पादनहरु, खाद्य पदार्थ, लत्ता कपडा, फेन्सी, जुत्ता, चप्पललगायतका स्टलहरु रहने संयोजक अधिकारीले बताए । स्थानिय माछा र कृषि उत्पादन बिक्रीका लागि आवश्यक स्टलहरु निःशुल्क उपलब्ध गराइने उनले बताए ।
महोत्सव आयोजना गर्न ९७ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ । महोत्सवबाट ९८ लाख ५० हजार आम्दानी गरि १ लाख रुपैयाँ बचत गर्ने लक्ष्य राखिएको संयोजक अधिकारीले बताए । बचत रकम तालको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनका लागि खर्च गरिने उनले बताए ।
पोखरामै रहेको र सुन्दर ताल रहेरपनि फेवाताल, बेगनास ताल र रुपा तालको ओझेलमा परेको खास्टे ताल मानवीय र प्राकृतिक अतिक्रमणको चपेटामासमेत पर्दै आएको छ । तर यसको संरक्षणका लागि पहल भने नभएको होइन । ३ सय रोपनी क्षेत्रफल रहेको खास्टे तालको संरक्षणको लागि तत्कालिन लेखनाथ नगरपालिकाले माटोको ड्याम निर्माण गरेको थियो ।
तालको सिमांकन गरी ड्याम निर्माणपश्चात संरक्षणको पहल गरेसँगै स्थानीयले सहकारी मार्फत खास्टेमा व्यवसायिक माछापालन गर्दै आएका छन् । जसका कारण तालको संरक्षण हुनुका साथै मुहारसमेत फेरिन थालेको संयोजक अधिकारीले बताए । खास्टे कृषि तथा मत्स्य सहकारी संस्था दर्ता गरि व्यावसायिक माछापालन भइरहेको तालमा ग्रासकार्प, कमन, रघु, नैनी, तिलपिया लगायतका माछा छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्राकृतिक सौन्दर्य, उच्च पहाडबाट देखि हिमशृङ्ला र फराकिला पाटनले परिचित बागलुङको ढोरपाटनमा…







