भुज्रुङखोला–घलेखर्क–ताराहिलटप–सिक्लेस पदमार्गको प्रवद्र्धन गरिदैं


     एभरेस्ट आवाज    
     चैत्र १० गते २०७७ मा प्रकाशित




भुज्रुङखोला–घलेखर्क–ताराहिलटप–सिक्लेस पदमार्गको प्रवद्र्धन गरिने भएको छ।

सन् १९८१ देखि चासो र चर्चामा रहेरपनि पछिल्ला समय ओझेलमा परेको उक्त पदमार्गको नेपाल पर्यटन बोर्डको गण्डकी प्रदेश कार्यालय पोखराको प्रबद्र्धन एवं अखिल नेपाल पर्यटन मजदुर संघ गण्डकी तथा कास्की जिल्ला समिति र पोखरा महानगरपालिका समितिको संयुक्त आयोजनामा उक्त क्षेत्रमा प्रवद्र्धनात्मक पदयात्रा गर्न लागिएको हो ।

पर्यटन मजदुरसहित पर्यटनसम्बद्ध क्षेत्रका प्रतिनिधिसहितको टोलीले यही चैत १० गतेदेखि उक्त पदमार्गमा २ रात ३ दिनको पदयात्रा गर्न लागेको अखिल नेपाल पर्यटन मजदुर संघ कास्कीका अध्यक्ष धनबहादुर तामाङले जानकारी दिएका छन्।

पुरानो पदमार्ग भएर पनि सो मार्गमा व्यवस्थित चिया तथा खाजा खाने ठाउँ, होटेललगायत पूर्वाधार नभएका कारणपछि परेको उनले बताए।

अन्नपूर्ण हिम श्रृंखलासहितका हिमाली एवं पहाडी दृश्यलाई एकसाथ अवलोकन गर्न सकिने यो पदमार्गमा पदयात्रा गर्दा अधिकतम २ हजार ९ सय मिटरको उचाइसम्म पुग्नुपर्छ।

घलेखर्कदेखि माथि गुराँसैगुरासको जंगल भएका कारण चैत वैशाखको समय यस क्षेत्रको पदयात्रा निकै मनोरम हुने पर्यटन व्यवसायी बताउँछन्। सम्भावना भएर पनि ओझेलमा परिरहेका पर्यटकीय गन्तव्यलाई पर्यटन सम्बद्ध संघसंस्थाको सहकार्यमा नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गर्दै आएको बोर्डको प्रदेश कार्यालय पोखराका प्रमुख काशीराज भण्डारीले जानकारी दिएका छन्।

जथाभावी मोटरबाटो खन्ने क्रमसँगै पदयात्रा पर्यटन संकटमा पर्दै गएका अवस्थामा पछि परेका अवस्थामा पुरान ऐतिहासिक पदमार्गको प्रवद्र्धन र उत्थान गर्न खोजिनुलाई सकारात्मक रुपमा लिइएको छ।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।