मौजाको सेमी हाईअल्टिच्यूड खेल मैदानको शिलान्यास


     एभरेस्ट आवाज    
     चैत्र १४ गते २०७७ मा प्रकाशित




पोखराको मौजामा निर्माण गर्न प्रस्तावित सेमी हाईअल्टिच्यूड रंगशालाको खेल मैदान सम्याउन शुरु भएको छ । पोखरा महानगरपालिकाको ४० लाखको लागतमा पोखरा महानगरपालिका वडा नम्बर २० मा निर्माण गर्न प्रस्तावित सेमी हाईअल्टिच्यूड रंगशालाको खेल मैदान सम्याउन शुरु गरिएको हो । रंगशालाको विस्तृत परियोजना अध्ययन (डिपीआर) निर्माण गरेर सेमी हाईअल्टिच्यूड रंगशाला निर्माण गर्ने पक्का भएपछि खेल मैदान सम्याउन शुरु गरिएको पोखरा महानगरपालिका वडा नम्बर २० का अध्यक्ष सीमबहादुर गुरुङले जानकारी दिए ।

मैदान सम्याउने कार्यको शनिबार शिलान्यास गरिएको छ । मैदान सम्याउने कार्यको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र कास्की २ (ख)बाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य विन्दुकुमार थापाले शिलान्यास गरे ।

सेमी हाइअल्टिच्यूड रंगशालाको डिपीआर तयार गरिएको वडाध्यक्ष गुरुङले जानकारी दिए । पोखरा महानगरपालिकाले ४० लाख छुट्याएकाले डिपीआर तयार गरेर बाँकी रहेको रकमले मैदान सम्याउन थालिएको उनले बताए ।

यो खेल मैदान बनेमा पोखराको सबैभन्दा उचाईको खेल मैदान बन्नेछ । एक हजार सात सय मिटरको उचाईमा रहेको यो खेल मैदानमा इलाभेन अ साईड फुटबल खेल्न मिल्नेगरी संरचना निर्माण गरिनेछ । महानगरले तयार गरेको डिपीआर अनुसार यो मैदान पूर्ण रुपमा निर्माण सम्पन्न गर्न १६ करोड खर्च लाग्नेछ । मैदानसँगै त्यहाँ करीब ३ हजार दर्शक अटाउने क्षमताको प्राकृतिक प्याराफिटसमेत निर्माण गरिने कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले जानकारी दिए । त्यस्तै, खेलाडीका लागि चेञ्जिङ रुम, शौचालयलगायतका संरचनापनि निर्माण गरिनेछ ।

त्यस्तै सो मैदानको दक्षिणी भागमा बास्केटबल र भलिवल कोर्टसमेत बनाईनेगरी डिपीआर तयार भएको छ । मैदानमा प्राकृतिक दुबो रोपिने उनले जानकारी दिए । पोखरा महानगरपालिकाका योजना महाशाखा प्रमुख शारदामोहन काफ्लेले मैदानको भागमध्ये कहिं २ मिटर त कहिं ५ मिटर गरेर ८ हजार घनमिटर माटो निकालिने बताए ।

पोखराको पर्यटकीय क्षेत्र मानिने मौजामा बन्ने खेल मैदानबाट माछापुच्छ्रे हिमाल र अन्नपूर्ण हिमालका श्रृंखलाहरु दृश्यावलोकन गर्न सकिन्छ । उसो त खैल मैदान नजिकैको थुम्कोबाट पोखरा बजारसँगै नजिकका क्षेत्रहरु प्रष्टसँग देखिन्छ । नजिकै जंगलसमेत भएकाले त्यहाँ मृग, हरिण, कालिज, वन कुखुरालगायतसँग साक्षात्कारसमेत गर्न सकिने वडाध्यक्ष गुरुङले बताए ।

शिलान्यास कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले मौजाको सेमी हाइअल्टिच्यूड रंगशाला पोखरा र पोखरेलीको गौरवको विषय भएको बताए । उनले पोखरा विश्वको उत्कृष्ट १० गन्तव्यमा पर्ने भन्दै त्यसमा खेल पर्यटनपनि एक महत्वपूर्ण पाटो भएको बताए । तर खेल खेल्न मौजा आउने र फेरि पोखरा फर्किने हो भने त्यसको औचित्य नहुने भन्दै त्यसका लागि स्थानिय होमस्टेमा बस्ने र त्यहिंका अर्गानिक उत्पादन खाने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।

कास्की २ (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य विन्दुकुमार थापाले सेमी हाइअल्टिच्यूड रंगशाला पोखराको लागि महत्वपूर्ण भएकाले यो निर्माणका लागि आफूलेपनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।