रुकबहादुर गुरुङको कथा संग्रह विमोचन


     एभरेस्ट आवाज    
     चैत्र १६ गते २०७७ मा प्रकाशित



चैत १५ पोखरा । समाजसेवी रुकबहादुर गुरुङद्वारा लिखित “आत्मबल बढाउने कथा संग्रह” आइतवार पोखरामा विमोचन गरिएको छ ।

संग्रहको गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा.गणेशमान गुरुङ, मल्याङकोट पोखरा सम्पर्क मञ्चका अध्यक्ष गोबिन्दबहादुर खाँण, गुरुङ साहित्यिक मञ्च नेपालकी अध्यक्ष गौरी गुरुङ र कथाकार रुकबहादुर गुरुङले विमोचन गरेका हुन् ।

आइतबार विमोचन भएको संग्रहमा ९८ वटा लघु कथा समावेश छन् ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा.गणेशमान गुरुङले कृतिको महत्व अमिट हुने बताए । भुपि शेरचनको घुम्ने मेचमाथि अन्धो मान्छे लगायतको रचनाको चर्चा गर्नुहुदै साहित्यिक सिर्जनाले समाज, मुलुक समृद्धिका लागि सघाउने उनको भनाई थियो । लेखन निरन्तरताका लागि शुभकामना व्यक्त गर्दै लेखनका लागि साधना जरुरी रहेको बताए ।

कार्यक्रममा कथाकार रुकबहादुर गुरुङले कोभिड–१९ (कोरोना भाइरस)को लकडाउन समयलाई सदुपयोग गर्दै कथा संग्रहको रुपमा पाठकविच प्रस्तुत गरेको बताए ।

पुस्तक समिक्षा गर्दै गुरुङ साहित्यिक मञ्च नेपालकी अध्यक्ष गौरी गुरुङले आत्मबल बढाउने कथा संग्रहले समाज रुपान्तरणमा समेत महत्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, गण्डकी प्रदेश आर्थिक मालिमा तथा योजना मन्त्री किरण गुरुङको निजी सचिव साहित्यकार तेजबहादुर गुरुङ, पेशागत बिमा अभिकर्ता नेपालका सचिव केदारनाथ अधिकारी, पञ्चमुल पोखरा सम्पर्क समाजका संस्थापक अध्यक्ष लालकुमार अधिकारी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा वेलनन एकेडेमीका संस्थापक तथा युनिप्स नेपालका अध्यक्ष शान्तबहादुर गुरुङले पुस्तकका लेखक रुकबहादुर गुरुङको परिचय गराएका थिए ।

मल्याङकोट पोखरा सम्पर्क मञ्चका अध्यक्ष गोविन्दबहादुर खाँणको अध्यक्षतामा भएको कार्यक्रममा औ बहादुर गुरुङले स्वागत र नवराज दुराले कार्यक्रम संचालन गरेका थिए ।

गुरुङको यसअघि “लगदा गाँउको चिनारी पुस्तक” पुस्तक पाठकमाझ आइसकेको छ । स्याङजा चापाकोट ४ मा जन्मेका कथाकार गुरुङको ४७ औं जन्मदिनको अवसर पारेर दोस्रो कृति सार्वजनिक गरिएको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।