लेखनाथ युनाइटेडलाई उपमेयर कप महिला फुटबलको उपाधि


     एभरेस्ट आवाज    
     चैत्र १८ गते २०७७ मा प्रकाशित




लेखनाथ युनाइटेड, कास्कीले प्रथम उपमेयर कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

नवलपरासी जिल्लाको बर्दघाटमा मंगलबार सम्पन्न फाइनल भिडन्तमा लेखनाथले घरेलु टोली नवलपरासी–११ लाई २–१ ले हराउँदै उपाधि जितेको हो ।

उपाधि जितका लागि लेखनाथको रोश्नी र सदिपाको गोल गरे। बर्दघाटस्थित क्याम्पाचौर खेलमैदानमा शुरुवाती अग्रता लिएरपनि नवलपरासीले अन्ततः हार बेहोर्न पुग्यो। नवलपरासीकी अञ्जलीले सुरुवाती गोल गरेकी थिइन्।

खेलको छैटौं मिनटमै अन्जली खवासको गोलबाट अग्रता बनाएको नवलपरासीले त्यसलाई पहिलो हाफसम्म पनि जोगाउन सकेन। उता २५ औं मिनटमा रोश्नी लिम्बुले लेखनाथका लागि बराबरी गोल फर्काइन्। त्यस्तै दोस्रो हाफको शुरुवात मै सदिपा ब्लोन तामाङले दोस्रो तथा निर्णायक गोल गर्दै लेखनाथको जित सुनिश्चित गरेकी थिइन्।

विजेता बनेको लेखनाथले उपाधिसहित नगद १ लाख ५ हजार ५६ सय रुपैयाँ पुरस्कार जित्यो। उपविजेता नवलपरासीले ६५ हजारमा चित्त बुझायो। प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी लेखनाथ कै दिपा शाही घोषित भइन् भने उत्कृष्ट गोलरक्षक पनि लेखनाथ कै झरना राई बनिन्।

त्यस्तै, उत्कृष्ट डिफेन्डर नवलपरासीकी एलिना मगर बनिन्। सर्वाधिक गोलकर्ताको पुरस्कार पनि नवलपरासी कै रश्मी घिर्सिङले हात पारिन्। विजयी खेलाडीहरुलाई प्रमुख अतिथी बर्दघाट नगरपालिकाका मेयर धिरज शर्मा बस्याल, बिशेष अतिथी उपमेयर मायादेवी पौडेल, बर्दघाट नगर खेलकुद विकास समितिका अध्यक्ष सन्तोष श्रेष्ठ लगायतले पुरस्कार वितरण गरे।

बर्दघाट नगर खेलकुद विकास समिति, नवलपरासीको आयोजनामा चैत्र १० गतेदेखि सुरु भएको प्रतियोगितामा रुपन्देही, नवलपरासी, नवलपुर जिल्लाका गरी कुल ८ टोलीले प्रतिस्पर्धा गरेको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।