आहा–रारा गोल्ड कप भोलिदेखि सुरु

- आयोजक सहारा र एपीएफबीच प्रतियोगिताको उद्घाटन खेल, गोल्ड कपको फाइनल खेल चैत २८ गते हुनेछ


     एभरेस्ट आवाज    
     चैत्र २० गते २०७७ मा प्रकाशित




१९ औं संस्करणको आहा–रारा गोल्ड कपको फुटबल प्रतियोगिता शनिबारदेखि सुरु हुँदैछ।

पोखरा रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक सहारा क्लब र विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच हुनेछ।

उक्त खेल पहिलो क्वार्टर फाइनल हुने आयोजक सहारा क्लबले जनाएको छ। क्लबका अध्यक्ष केशवबहादुर थापाका अनुसार उद्घाटन खेल दिउँसो २ बजे हुँदैछ।

चैत २२ मा ए डिभिजन लिग विजेता मच्छिन्द्र क्लब र अफ्रिकन रुट एसोसिएसन, डाउला क्यामरुनबीच खेल प्रतिस्पर्धा हुनेछ। चैत २३ मा तेस्रो क्वार्टर फाइनल खेलमा संकटा क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच तथा चौथो क्वार्टर फाइनल खेलमा थ्री स्टार क्लब र विभागीय टोली नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ।

चैत २५ मा पहिलो सेमीफाइनल खेल हुनेछ। उक्त खेल २१ गते हुने सहारा र एपीएफबीचको विजेता तथा २३ गते प्रतिस्पर्धा गर्ने संकटा र मनाङ मर्स्याङ्दीबीच प्रतिस्पर्धा हुनेछ।

यस्तै‚ चैत २६ मा हुने दोस्रो सेमीफाइनल खेलमा २२ गते खेल्ने मच्छिन्द्र र अफ्रिकन रुट एशोसियसनबीचको विजेता तथा थ्री स्टार र नेपाल पुलिस क्लबबीचको विजेता टोलीको बिचमा खेल हुनेछ। गोल्ड कपको फाइनल खेल चैत २८ गते हुनेछ।

गोल्ड कपको उद्घाटन समारोहमा ‘सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी–२०७७’ बाट नगद ३५ हजार रुपैयाँसहित राष्ट्रिय टोलीका फरवार्ड अभिषेक रिजाललाई सम्मान गरिने कार्यक्रम छ। सहाराले हरेक वर्ष यस पुरस्कार प्रदान गर्दै आएको छ। अघिल्लो वर्ष राष्ट्रिय टोलीका कप्तान सुजल श्रेष्ठलाई सम्मान गरिएको थियो।

गोल्ड कपको विजेता टिमलाई १० लाख एक हजार रुपैयाँ प्रदान गरिने छ। त्यस्तै‚ उपविजेता टिमले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ। विधागत रूपमा सर्वोत्कृष्ट हुने खेलाडीले एप्रिला स्कुटर प्राप्त गर्नेछन्। उत्कृष्ट गोलरक्षक, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षकले ट्रफीसहित जनही २५ हजार रुपैयाँ पाउनेछन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।