गण्डकी प्रदेश सभामा पेस गरिएको आमसंचार बिधेयकप्रति पत्रकार श्रेष्ठको ध्यानाकर्षण


     एभरेस्ट आवाज    
     चैत्र २४ गते २०७७ मा प्रकाशित




गण्डकी प्रदेश सभामा पेस गरिएको आमसंचार बिधेयक प्रति पत्रकार दिपेन्द्र श्रेष्ठले प्रेस स्वतन्त्रता बिरोधि प्राबधान समेटिएको भन्दै ध्यानाकर्षण गराएका छन्।

पत्रकार महासंघ कास्कीका अध्यक्षसमेत रहेका श्रेष्ठले गण्डकी प्रदेश सरकारले प्रदेश सभामा दर्ता गरेको आमसंचार सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयकका सम्बन्धमा आफ्नो गम्भिर ध्यानार्कषण भएको जनाएका हुन्।

नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा गण्डकी प्रदेश समिति अध्यक्ष पदका उमेद्वार समेत रहेका श्रेष्ठले बिधेयकमा भएका कतिपय प्रावधानहरुले स्वतन्त्र,स्वच्छ र मर्यादित पत्रकारिता माथिको हस्तक्षेप गर्ने नियत देखिन आएको भन्दै ध्यानाकर्षण गराएका हुन्।

‘बिशेष गरी राज्य बिरुद्ध पत्रकारहरुले कलम चलाएको अभियोगमा ‘पक्ष पनि राज्य, न्यायकर्ता पनि राज्यका प्रतिनिधी’ सचिव राखिएको प्रावधान प्रति मेरो गम्भिर ध्यानाकर्षण भएको हो,’ एभरेस्ट मिडिया प्रा.लि.ࣻद्वारा संचालित एभरेस्ट एफ एम र एभरेस्ट आवाजका सम्पादक समेत रहेका श्रेठले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सो प्रावधान न्यायको सिद्धान्त बिपरित छ । आमसंचार क्षेत्रलाई ब्यवस्थित गर्ने सम्बन्धमा संघीय कानुन समेत पारित भईनसकेको अवस्थामा संबिधान र संघीय कानुनको भावना बिपरित र प्रेस स्वतन्त्रता हनन् हुने गरी, यसका सरोकारवाला पक्षहरुसंग संबाद नचलाई ल्याइने कुनैपनि कानुनहरुप्रति हामी पत्रकारहरुलाई स्वीकार्य हुँदैन। अतः यस बिषयमा पत्रकार महासंघलगायत सरोकारवाला सबैसँग बृहद् छलफल चलाई अगाडी बढाउन अपिल गर्दछु।’

‘यस सवालमा गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङसँग प्रष्टसँग बिमति राखेको जानकारी गराउँदै मख्य मन्त्री गुरुङले सरोकारवाला पत्रकार महासंघसँग छलफल गरि आवश्यक संशोधन गरेर मात्र बिधेयक प्रक्रियालाई अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ,’ श्रेष्ठले अगाडि भनेका छन्, ‘आशा छ, प्रदेश सरकार पर्याप्त छलफल, सम्बाद र सुझाब बनोजिम अगाडि बढ्नेछ अन्यथा यस बिधेयक र प्रेस स्वतन्त्रता बिरोधि प्राबधान समेटिएको कुनैपनि बिधेयक बिरुद्ध संस्थागत÷ब्यक्तिगत रुपमा र महासंघको साधारण सदस्यको रुपमा सदैब डटेर प्रतिबाद गर्ने दृढता ब्यक्त गर्दछु । जय पत्रकार महासंघ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।