बिहीबारदेखि पोखरामा यु–१९ दुईदिवसीय क्रिकेट हुँदै


     एभरेस्ट आवाज    
     चैत्र २४ गते २०७७ मा प्रकाशित



पोखरा । बिहीबारदेखि पोखरा रंगशाला क्रिकेट मैदानमा दुई दिवसीय क्रिकेट सिरिज शुरु हुँदै छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनमा पोखराको क्रिकेट इतिहासमै पहिलो पटक यु–१९ दुईदिवसीय क्रिकेट सिरिज आयोजना हुने भएको हो ।

उमेर समूहको सिरिजमा तीन टोलीले उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन् । कास्की, स्याङजा, नवलपुर, तनहुँ र बाग्लुङका खेलाडी छनोट गरी टिम तयार गरिएको पोखरा क्रिकेट एकेडेमीका अध्यक्ष बबिन कुँवरले जानकारी दिए । उनका अनुसार विभिन्न जिल्लाबाट ६५ जना बन्द प्रशिक्षणमा सहभागि थिए ।

सहभागि भएकाहरुबाटै उत्कृष्ट खेलाडी छनोट गरी टिम तयार गरिएको हो । पोखरा क्रिकेट एकेडेमीको मुख्य प्रायोजन तथा कास्की क्रिकेट क्लबको व्यवस्थापनमा हुने प्रतियोगितामा कास्कीको रातो, निलो र हरियो गरी तीन टोलीले प्रतिस्पर्धा गर्ने कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले बताए । ‘गण्डकी प्रदेशबाट खेलाडी छनोट गरी तीन टिममा विभाजन गरी खेलाईने छ ।’ उनले भने, ‘नयाँ शुरुवात हो । खेलाडीले खेल देखाउने अवसर पाउँछन् ।’

क्रिकेट विकासमा यो नयाँ आयाम हुने अपेक्षा र विश्वास संघले लिएको छ । कास्की क्रिकेट क्लबका अध्यक्ष सन्तोष श्रेष्ठले कास्कीको क्रिकेट विकासमा सहकार्य गर्ने पाँउदा खुशी लागेको बताउँदै आगामी दिनमा पनि क्रिकेट संघ तथा एकेडेमीसँगको सहकार्यमा प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता जनाए ।

टिम हरियोको कप्तान सुवास भण्डारी हुन् भने प्रशिक्षक रिजन प्रजु रहेका छन् । त्यसैगरी टिम निलोको कप्तान विकास मुष्कान थापा रहेका छन् । प्रशिक्षकको जिम्मेवारी गोविन्द प्रधान रहेका छन् । टिम रातोको कप्तान विकास अधिकारी र प्रशिक्षकमा विधान श्रेष्ठ रहेका छन् ।

कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले टोलीलाई जर्सी हस्तान्तरण गरेका थिए । बिहीबार देखि शुरु हुने प्रतिस्पर्धाको लागि टिम हरियोका कप्तान भण्डारी तथा प्रशिक्षक प्रजुलाई जर्सी हस्तान्तरण गरिएको थियो । विजेताले ट्रफी पदक तथा प्रमाणपत्र प्राप्त गर्ने छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।