आज पत्रकार महासंघको चुनाव, जिल्लाबाटै मतदान गर्न पाइने

- महासंघ केन्द्रमा ४९ पदाधिकारीका लागि निर्वाचन, पोखरेल र शर्माको बेग्लाबेग्लै प्यानल, कास्कीको २२ पदमा ४६ जनाको उम्मेदवारी, गण्डकी प्रदेशमा श्रेष्ठ र शर्माको प्यानलबीच कडा प्रतिस्पर्धा


     एभरेस्ट आवाज    
     चैत्र २५ गते २०७७ मा प्रकाशित



आज चैत्र २५ गते (बुधबार), नेपाल पत्रकार महासंघको केन्द्रदेखि, प्रदेश र जिल्लाहरुमा पदाधिकारी तथा सदस्यहरुका लागि चुनाव हुँदैछ।

महासंघको चुनावका लागि विभिन्न राजनीतिक दलनिकट पत्रकार संगठनहरु प्यानल बनाएर निर्वाचनमा होमिएका छन्।

केन्द्रदेखि प्रदेश र जिल्ला शाखासम्म अध्यक्षदेखि सदस्यसम्म विभिन्न पदका लागि निर्वाचनको तयारी तीव्र पारिएको छ।

महासंघको केन्द्रीय निर्वाचनका लागि वरिष्ठ पत्रकार कपिल काफ्लेको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन मण्डल गठन गरिएको छ। निर्वाचन मण्डलले सम्पूर्ण तयारी पूरा गरेको र मतपत्र प्रकाशन गरी प्रदेश तथा जिल्ला शाखामा पठाएको निर्वाचन मण्डलले जनाएको छ।

४९ पदाधिकारीका लागि १५२ जनाको उम्मेदवारी

आज हुने महासंघको केन्द्र, प्रदेश, प्रतिष्ठान र जिल्लास्तरको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको नेपाल पत्रकार महासंघको निर्वाचन मण्डलले जनाएको छ।

महासंघको यस वर्षको निर्वाचनमा १३ हजार १२२ मतदाता छन् । केन्द्रीय समितिका ४९ पदाधिकारीका लागि १५२ जनाको उम्मेदवारी परेको छ। जिल्ला र प्रतिष्ठान तहको निर्वाचनका लागि चैत २२ गते मनोनयन दर्ता भइसकेको छ। प्रदेश संरचनामा महासंघमा १० प्रदेश मानेर निर्वाचन क्षेत्र छुट्याइएको छ।

सातवटा प्रदेशमा बेग्लाबेग्लै उम्मेद्वारहरुको भोटिङ हुनेछ। ७ प्रदेश बाहेक काठमाडौं, ललितपुर र भक्तपुरमा ‘उपत्यका प्रदेश’को संरचना बनाइएको छ। उपत्यकाका ३ जिल्ला बाहेक बागमती प्रदेशका अन्य जिल्लालाई समेटेर बागमती प्रदेश बनाइएको छ। एसोसिएटलाई पनि प्रदेश स्तरकै मान्यता दिइएको छ। एसोसिएटमा अनलाइन पत्रकार संघ, चलचित्र पत्रकार संघ, खेलकुद पत्रकार संघ र वातावरण पत्रकार समूहको सहभागिता छ। त्यस्तै, प्रतिष्ठानहरुबाट बेग्लै प्रदेशस्तरको मतदान हुनेछ।

जिल्लाबाटै मतदान

महासंघको निर्वाचनका लागि केन्द्रमा वरिष्ठ पत्रकार कपिल काफ्लेको संयोेजकत्वमा ७ सदस्यीय निर्वाचन मण्डल गठन गरिएको छ । उनीबाहेक अन्य ६ सदस्यमा अधिवक्ताहरु छन्।

यस्तै महासंघको जिल्ला शाखाको निर्वाचनका लागि १ जना संयोजकसहित ३ सदस्यीय निर्वाचन मण्डल बनाइएको छ। जसमा एक वरिष्ठ पत्रकार, एकजना अधिवक्ता र अर्को समावेशी, महिला वा खुला सदस्यसहित ३ सदस्यीय निर्वाचन मण्डल बनाइएको छ।

आज जिल्ला, एसोसिएट्स, प्रदेश र केन्द्रका लागि एकै पटक निर्वाचन गर्ने तयारी छ। त्यसका लागि मतदाता पत्रकारले जिल्लाबाटै सबै तहका लागि मतदान गर्ने व्यवस्था गरिएको छ।

केन्द्रबाट मतपत्र छापेर शनिबारदेखि प्रदेश तथा जिल्लामा पु¥याउने तयारी थालिएको छ। मतदानका लागि कुनै आधिकारिक परिचय पत्र वा नागरिकता चाहिने व्यवस्था गरिएको छ।

बेग्लाबेग्लै प्यानल

महासंघको यसपटकको निर्वाचनमा नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एमाले (नेपाल पक्ष), मोहन वैद्यको क्रान्तिकारी माओवादी लगायतका दल निकट पत्रकार संगठनले एउटै प्यानल बनाएका छन्।

एमालेको प्रधानमन्त्री केपी शर्मा ओली पक्ष निकट प्रेस चौतारीको छुट्टै प्यानल रहेको छ। केही स्वतन्त्र र बागी उम्मेदवारी पनि परेको छ।महासंघको केन्द्रीय अध्यक्षका लागि ३ जनाको उम्मेदवारी परेको छ। गजेन्द्रसिंह बुढाथोकी, विपुल पोख्रेल र निर्मला शर्माको उम्मेदवारी परेको छ।

अध्यक्षका उम्मेदवारमध्ये बुढाथोकी स्वतन्त्र उम्मेदवार हुन् भने शर्मा प्रधानमन्त्री ओली नेतृत्वको एमाले निकट प्रेस चौतारीकी हुन्। काँग्रेस निकट प्रेस युनियनका विपुल पोखरेल संयुक्त प्यानलबाट अध्यक्षको मैदानमा छन्।

वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, ध्रुव लम्साल र रमेश विष्टको उम्मेदवारी परेको छ। महिला उपाध्यक्षतर्फ दाना सुवेदी र बाला अधिकारीको उम्मेदवारी परेको छ।

यस्तै, समावेशी उपाध्यक्षमा अवधेश झा, उदय जीएम, मोहनकुमार सिंह, रेमबहादुर विश्वकर्मा, शीतलप्रसाद महतोको उम्मेदवारी परेको छ। महासचिव पदका लागि बालकृष्ण बस्नेत, राजेश मिश्र, रोशन पुरी र सुवोध गौतमले उम्मेदवारी दिएका छन्। खुला सचिवतर्फ गोविन्दप्रसाद चौलागाईं, जन्मदेव जैसी, रामप्रसाद शर्मा (यम विरही) र रामकृष्ण ज्ञवालीको उम्मेदवारी परेको छ।

महिला सचिवतर्फ निमा काफ्ले, सिर्जना अर्याल उम्मेदवार बनेका छन् भने जनजाति सचिवमा नारायण सुन्दर किलम्बु, रामकुमार श्रेष्ठ र शाहीमान राईको उम्मेदवारी परेको छ। मधेसी सचिवमा दीपेन्द्र चौहान, देवकुमार यादव र स्वेता सिन्हा उठेका छन्। दलित सचिवमा मधु शाही र हेमकर्ण विकको उम्मेद्वारी परेको छ भने कोषाध्यक्षमा कलेन्द्र सेजुवाल, कृष्ण गिरी र प्रकाश थापाको उम्मेदवारी परेको छ।यस्तै, लेखा समिति संयोजकमा प्रेस सेन्टरका लेखनाथ न्यौपानेको उम्मेदवारी परेको छ।

निर्मला शर्माको नेतृत्वमा एउटा प्यानल

एमाले(केपी ओली समूह) निकट प्रेस चौतारीबाट अध्यक्षमा निर्मला शर्मा, वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, उपाध्यक्ष (महिला)मा दाना केसी सुवेदी, उपाध्यक्ष समावेशीमा अवधेश झा, महासचिवमा बालकृष्ण बस्नेत, सचिव खुलामा रामकृष्ण ज्ञवाली, सचिव महिलामा निमा काफ्ले, सचिव आदिवासी–जनजातिमा शाहीमान राई, सचिव मधेसीमा स्वेता सिन्हा, सचिव दलितमा मधु शाही, सचिव एसोसियटमा रामेश्वर कार्की, कोषाध्यक्षमा कृष्ण गिरी छन्। यस्तै खुल्ला सदस्यहरुमा भूपेन्द्र आर्चायसहित १६ सदस्य छन्।

यस्तै, निर्मला शर्माको प्यानलबाट लेखा समिति संयोजकमा द्वारिकाप्रसाद काफ्ले, सदस्यहरुमा विष्णु जम्कटेल र कालिका शिवाकोटी छन्।

विपुल पोखरेलको नेतृत्वमा अर्को प्यानल

नेपाली काँग्रेस, माओवादी केन्द्र, एमाले नेपाल पक्ष, क्रान्तिकारी माओवादी, विप्लव नेकपा लगायतका पार्टी निकट रहेका पत्रकार संगठन मैदानमा छन्। यसअन्तर्गत प्रेस युनियन, प्रेस चौतारी (माधव–वामदेव निकट), प्रेस संगठन, जनपत्रकार संगठन लगायतको प्यानल बनेको छ।

यो प्यानलमा अध्यक्षमा प्रेस युनियनका विपुल पोखरेल अध्यक्षमा उठेका छन् भने उनको बागीका रूपमा सोही संगठनका रामप्रसाद दाहालले उम्मेदवारी दिएका छन्।

संयुक्त प्यानलबाट वरिष्ठ उपाध्यक्षमा युनियनकै रमेश विष्ट र महिला उपाध्यक्षमा बाला अधिकारी रहेका छन्। यस्तै समावेशी उपाध्यक्षमा मसाल पार्टी निकटको प्रगतिशील पत्रकार संघका उदय जीएम उठेका छन्।

महासचिवमा प्रेस सेन्टरका रोशन पुरी, सचिव खुलामा माधव नेपाल पक्ष प्रेस चौतारीका गोविन्दप्रसाद चौलागाईंको उम्मेद्वारी परेको छ।

सचिव महिलामा प्रेस युनियनका सृजना अर्याल, आदिवाशी जनजातिमा नारायण सुन्दर किलम्बु, मधेसी सचिवमा दीपेन्द्र चौहान, दलितमा हेमकर्ण विक रहेका छन्। कोषाध्यक्षमा पनि युनियनकै कलेन्द्र सेजुवाल रहेका छन्।

संयुक्त प्यानलबाट लेखा समिति संयोजकमा प्रेस सेन्टरका लेखनाथ न्यौपानेको उम्मेदवारी परेको छ।

कास्कीको २२ पदमा ४६ जनाको उम्मेदवारी

यस्तै, नेपाल पत्रकार महासंघ, कास्कीको आशन्न निर्वाचनका लागि उम्मेदवारहरु चुनावी मैदानमा छन् । निर्वाचन कार्यक्रम अन्तर्गत आज हुने निर्वाचनका लागि आइतबार मनोनयन र सोमबार उम्मेदवारी फिर्ताको अन्तिम मिति तोकिएको थियो।

भण्डारी–लामिछाने प्यानलको आमने–सामने

महासंघ कास्कीको २२ पदका लागि ४६ जनाको उम्मेदवारी परेको छ। जसमा अध्यक्षमा बिमला भण्डारी र केशव शरण लामिछाने छन्। यस्तै, उपाध्यक्ष पदमा अर्जुन गिरी, रञ्जन अधिकारी र रामप्रसाद तिमिल्सिना, महिला उपाध्यक्षमा जमुना शर्मा वर्षा र रविना आलेको उम्मेदवारी परेको छ।

यसैगरी सचिव पदमा माधव बराल र दीपक परियार, समावेशी सहसचिवमा दीपककुमार श्रेष्ठ र रेम बहादुर विक, सहसचिवमा मानबहादुर घर्ती (एमवी आस्था) र श्रीराम सिग्देलको उम्मेदवारी परेको छ।

यस्तै कोषाध्यक्षमा एकराज गिरी, ओमप्रकाश उपाध्याय र कृष्ण दवाडी, आदिवासी जनजाति सदस्यमा खीमाकुमारी गुरुङ र पदम श्रेष्ठ, अन्य समावेशी सदस्य पदका लागि जैनव खातुन र सूर्यबहादुर परियारले उम्मेदवारी दिएका छन्।

यसैगरी, खुला कार्यसमिति सदस्य पदमा २२ जनाको उम्मेदवारी परेको छ । जसमा उमा आले मगर, कञ्चन थापा, कमल सुवेदी, गीता राना मगर, गौरव त्रिपाठी, धनबहादुर गुरुङ (सुमन), पुष्पराज दाहाल, प्रभु अधिकारी, विनिता सुनार खातुन, वीरेन्द्र सापकोटा, विष्णु गौतम, भीमबहादुर थापा (भीम भाई), भेषराज सुवेदी (जीवन सुवेदी), रोहितराज पराजुली, शिवराज वस्ताकोटी (शिव दाई), सन्तोष बस्याल, सन्तोष सुवेदी, सन्दीप पौडेल, सुरेश अधिकारी, श्रीभद्र पौडेल, युवराज गुरुङ (युनिश) र हरि पन्त रहेका छन्। यता, राष्टिय परिषद सदस्यमा १४ जना र प्रदेश परिषद सदस्यमा २८ जनाको उम्मेदवारी परेको छ।

गण्डकी प्रदेशमा श्रेष्ठ र शर्माको प्यानल

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका लागि दीपेन्द्र श्रेष्ठ र नारायण शर्मा प्यानलबीच कडा प्रतिस्पर्धामा छन्।

अध्यक्ष पदमा प्रेस चौतारीको तर्फबाट श्रेष्ठ, प्रेस यूनियनको तर्फबाट शर्मा छन्। केन्द्रीय समितिमा ११ संगठन सहित चुनावी मैदानमा उत्रेको काँग्रेस निकट प्रेस यूनियन, नेकपा माओबादी निकट प्रेस सेन्टरले गण्डकी प्रदेशमा भने आ–आफनै उम्मेदवार प्रस्तुत गरेका छन्।

त्यस्तै उपाध्यक्ष खुल्लामा प्रेस चौैतारीका इन्द्रप्रसाद पौडेल, प्रेस सेन्टरका तर्फबाट दीपक भटराई र महिला उपाध्यक्षमा प्रेस चौतारीबाट शान्ति गुरूङ र सोनी शर्माको उम्मेदवारी परेको छ।

त्यस्तै, महासचिवमा गोविन्द सुवेदी र दिल शिरिषको उम्मेदवारी परेको छ। दुवै जना प्रेस चौतारी निकट भएपनि सुवेदी माधव नेपाल समुहका हुन भने शिरिष केपी ओली समुहका हुन्।

त्यस्तै खुल्ला सचिवमा प्रेस यूनियनका ऋषिकान्त पौडेल, प्रेस चौतारीका प्रकाशचन्द्र भटराई र प्रेस यूनियनकै यदुनाथ बञ्जराले उम्मेदवारी दिएका छन्।

समावेशी सचिवमा प्रेस चौतारीका रुद्र श्रीसमगर र प्रेस यूनियनका सुशीलबाबु श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्। कोषाध्यक्षमा प्रेस सेन्टरका राजेन्द्र न्यौपाने, प्रेस चौतारीका शालिकराम कोइराला र स्वतन्त्रबाट सागरराज तिमिल्सिनाले उम्मेदवारी दर्ता गराएका छन्।

प्रदेशको खुल्ला सदस्यमा कृष्ण कँडेल, ताराप्रसाद शमाए, थम्मन थापा, परशुराम शर्मा आचार्य, प्रकाश डोटेल, प्रदीप पौडेल, भीमपाणी बराल, माधवप्रसाद अधिकारी, माधव पराजुली, रमेश बस्ताकोटी, लोकेन्द्रबहादुर सुनार, सुनिल पाण्डे र सुर्यप्रसाद बास्तोलाले उम्मेदवारी दिएका छन्। यता सदस्य महिलामा कविता श्रेष्ठ, रञ्जिता शर्मा, राधिका शर्मा कँडेल, रोशनी गुरूङ, स्मिता अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै सदस्य दलितमा रविना बोहरा र साने बहादुर नेपाली(कोइराला)को उम्मेदवारी परेको छ।

सदस्य आदिबासी जनजातीमा जनक श्रेष्ठ, विनाकुमारी थापा(विनु), रामजी राना, रुद्रबहादुर थापाको उम्मेदारी परेको निर्वाचन समितिले जनाएको छ । अल्पसंख्यक तर्फ पदम छन्त्याल र श्रीकान्त सापकोटाको उम्मेदवारी परेको छ भने मधेशी कोटामा उम्मेदवारी परेको छैन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।