आहा रारा गोल्डकप फुटबलको फाइनल आज

- पहिलो पटक च्याम्पियन बन्ने संकटा र अफ्रिकन रुटको आ–आफ्नै दाउ, विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार नगद हात पार्ने


     एभरेस्ट आवाज    
     चैत्र २८ गते २०७७ मा प्रकाशित




पोखरामा जारी यस संस्करणको आहा रारा गोल्डकप फुटबलको फाइनल खेल आज (शनिबार) हुँदैछ।

पोखरा रंगशालामा अपरान्ह हुने १९ औं संस्करणको फाइनलमा काठमाण्डौंको संकटा क्लब र विदेशी अफ्रिकन रुट एशोसिएसनबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।

फाइनलका लागि मैदान उत्रदा दुबै टिमको लक्ष्य पहिलो पटक उपाधि जित्नु हुनेछ। फाइनल अघिको प्रि–म्याच कन्फरेन्समा दुबै टिमका प्रशिक्षक र कप्तानले उपाधि जित्नका लागि खेल्ने बताएका छन्।

संकटाका मुख्य प्रशिक्षक सल्यान खड्कीले पाँच पटकको प्रयासमा फाइनल पुगेको बताउँदै टिमको लक्ष्य उपाधि जित्ने रहेको बताए। संकटाले पहिलो सेमिफाइनलमा एपीएफलाई हराएर फाइनलमा स्थान पक्का गरेको थियो।

यता, अफ्रिकन रुट पहिलो सहभागितामै फाइनल पुगेको हो। अफ्रिकनले दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै संकटासँगको भेट पक्का गरेको हो। अफ्रिकनका प्रशिक्षक सिंगे बोरिसले नेपालकै प्रतिष्ठित उपाधि उचाल्न फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने बताए।

उपाधिका दावेदार टोली मनाङ मस्र्याङ्दी, थ्री–स्टार, मच्छिन्द्र क्लब तथा विभागीय नेपाल पुलिस, सशस्त्र प्रहरीको एपीएफ प्रतियोगिताबाट बाहिरिदाँ संकटा र अफ्रिकन रुट एशोसिएसनमध्ये एकलाई उपाधि उचाल्ने सुनौलो अवसर प्राप्त छ। विभागीय नेपाली सेनाकोा त्रिभुवन क्लबले भने यस पटकको संस्करणमा सहभागिता जनाएन। यतिबेला, एएफसी कप २०२१ छनोटको तयारीमा रहेको आर्मी क्लबले मोफसलको प्रतियोगितामा सहभागिता जनाएको छैन।

प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैयाँ हात पार्नेछ। यस्तै, उपविजेताले टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ।

व्यक्तिगत विधातर्फ सुर्य बहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर,मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।