आज चैत्र कृष्ण औंसीको दिन अर्थात घोडेजात्रा। आजको दिनलाई इन्द्र सकुनी उत्तरभाद्रपदा तथा घोडेजात्राको दिनपनि भनिन्छ।
प्रत्येक वर्षको जस्तै आज (आइतबार) घोडेजात्राको अवसरमा काठमाण्डौं उपत्यकामा घोडे जात्रा मनाइँदैछ । काठमाडौं उपत्यकामा प्रचलित मध्येको यो जात्रा प्राचीन जात्रा मानिन्छ।
परापूर्व कालदेखि उपत्यकाको मानव वस्तीमा राक्षसले बालबालिका खाइदिने तथा विभिन्न दुःख दिने गरेको र उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको किंवदन्तीका आधारमा घोडजात्रा मनाइएको पाइन्छ । घोडेजात्राको अघिल्लो दिन चैत कृष्ण चर्तुदशीलाई पिसाच चर्तुदर्शीका रुपमा समेत लिइन्छ।
त्यस्तै, प्रत्येक वर्षको चैत्र शुक्ल प्रतिपदाबाट नयाँ वर्षको थालनी हुने विश्वासका आधारमा उक्त दिनको अघिल्लो दिन चैत्र कृष्ण औंसीमा घोडा कुदाएर (अश्वयात्रा) गरी नयाँ वर्षलाई स्वागत गरिने प्रचलन रहेको अर्को किंवदन्ती छ।
काठमाडौँको टुडिखेलमा बर्सेनी नेपाली सेनाले घोडेजात्राको आयोजना गर्दछ भने ललितपुरको पाटनमा आजैका दिन एक्लो घोडा दगुराएर घोडेजात्रा मनाइन्छ। नेपाली सेनाका घोडसवारहरूले प्रतिस्पर्धात्मक रुपमा घोडा दौडाउने हुँदा आज टुँडिखेलमा हेर्नेको भीड लाग्ने गर्छ।
त्यसका अतिरिक्त सेनाले शारीरिक व्यायाम, जिम्याष्टिक तथा विभिन्न खाले अश्वकला, मोटरसाइकल खेल र युद्धकलाको समेत प्रदर्शन गर्छन्। घोडेजात्राकै कारण आजको दिन काठमाण्डौंको टुँडिखेल विशेष स्थान बनेको हुन्छ।
घोडेजात्रा हेर्न राष्ट्र प्रमुख सम्माननीय राष्ट्रपतिसहित उच्च पदस्थ व्यक्तित्वहरू, कुटनीतिक नियोगका प्रतिनिधिहरूलाई टुँडिखेललाई डाक्ने गरिन्छ। घोडेजात्राका अवसरमा सरकारले काठमाण्डौं उपत्यकामा सार्वजनिक बिदा दिँदै आएको छ।
टुँडिखेलमा सेनाले घोडेजात्राको बढाईं गरेपछि उपत्यकाका किसानले आफ्नो खेतबारीमा सिमी, बोडी, भटमास, काँक्रो र फर्सी जस्ता तरकारी बालीको बीऊ रोप्ने चलन छ। हाल घोडेजात्रालाई काठमाडौँमा मात्रै सीमित नराखेर राष्ट्रिय महत्व बोकेको जात्राका रुपमा मनाउने गरिएको छ। काठमाडौंबाहेक पाल्पा, धरान र बुटवलमा समेत घोडेजात्रा मनाउने गरिन्छ ।
पाटनको बालकुमारी क्षेत्रमा आजको दिन स्थानीय घोडाहरूलाई मदिरा खुवाएर चढ्ने चलन छ। यसरी मदिराको नशामा रहेका घोडाहरू हिँडेको अनि कुदेको हेरेर रमाइलो मान्ने चलन पनि छ। स्मरण रहोस्, एकीकरणपछि पनि भक्तपुर, पाटन अनि काठमाडौंबीच आजको दिन अर्थात् घोडेजात्राको दिन कुन शहरमा कसको घोडेजात्रा राम्रो भन्ने विषयमा प्रतिस्पर्धा हुने गर्दथ्यो।
गत वर्ष कोरोना महामारीका कारण बन्दाबन्दी जारी गरिएकै दिन घोडेजात्रा परेकाले कार्यक्रम स्थगित गरिएको थियो। यस वर्ष पनि सेनाले थोरैलाई आमन्त्रित गरेर सांकेतिक रूपमा मात्र जात्राका कार्यक्रमलाई निरन्तरता दिन बताइएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, साउन १३ गण्डकी प्रदेशमा सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेको संख्या ३३…





