पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीले आफ्नो ४२ औँ स्थापना तथा शिक्षक दिवसको अवसरमा मानवसेवा आश्रम छोरेपाटनलाई सहयोग गरेको छ ।
संगठनमा आबद्ध शिक्षकहरुले आफ्नो जन्मदिनको अवसरमा प्रदान गरेका रकम र संगठनको अक्षयकोषको गरी रु १६ हजार बराबरको खाद्यान्न तथा औषधी र रु ४ हजार रकम सहयोग गरेको संगठनका अध्यक्ष रोमहर्षण पौडेलले बताए । यस पुनित कार्यमा सहयोग गर्ने संगठनमा आबद्ध शिक्षकहरुलाई धन्यवाद दिँदै आश्रमलाई पहिलो पटक सहयोग प्रदान गर्न पाएकामा खुसी व्यक्त गरे ।
शिक्षक संकठन प्रदेश अध्यक्ष रामप्रसाद पोख्रेलले संगठन कास्कीले रचनात्मक र उदाहरणीय कार्य गरेकामा खुसी व्यक्त गर्दै मानव सेवा नै पहिलो धर्म भएको बताए । भगवान् र देवता खोज्न कतै जानु नपर्ने बताउँदै पोख्रेलले यो कार्यले अन्य शिक्षकलाई पनि मानव सेवा गर्न प्रेरणा मिलेको बताए ।
मानवसेवा राजन आश्रमका प्रमुख सापकोटाले आश्रमको बारेमा बताउँदै आश्रमलाई पोखरेलीहरुको माया र साथले सेवा गर्ने उत्साह जागेर आएको बताए । अहिले रहेका ठाउँ लिजमा लिएको र आफ्नै भवन पोखराको हेम्जामा बन्दै गरेको बताउँदै संगठनको सहयोगले सोही भवन निर्माणमा इटा थप्ने काम गरेको बताए ।

गतसालदेखि संगठनमा आबद्ध इच्छुक सदस्यहरुको जन्मदिनको अवसर पारेर संगठनले जन्मदिन कोष स्थापना गरेको थियो ।
यसैबिच शनिबार निर्वाचित संगठनका जिल्ला कमिटीका सम्पूर्ण सदस्यहरुको पदस्थापन गरिएको छ ।
शिक्षक संगठन कास्कीको कार्यालय पृथ्वीचोकमा भएको कार्यक्रम अध्यक्ष रोमहर्षण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश अध्यक्ष रामप्रसाद पोख्रेलले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सचिव तीर्थराज ढकालले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







