नयाँ वर्ष २०७८ को शुभकामना

- नेपाली मनहरूलाई मात्र नभई विश्वभरकै मानव जातिको सुस्वास्थ्यको कामना गरौ


     एभरेस्ट आवाज    
     वैशाख १ गते २०७८ मा प्रकाशित



तस्बीरः दुर्गाप्रसाद पौडेल

आज नयाँ वर्ष २०७८ को पहिलो महिना, वैशाखको पहिलो दिन वैशाख १ गते अर्थात नयाँ वर्षकै पहिलो दिन।

नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षौल्लासका साथ एक आपसमा शुभकामना आदान–प्रदान गरी मनाइँदैछ।

नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक–अर्कामा व्यक्तै गर्दै र मिस्ठान्न भोजन, भेटघाट गर्दै आज नयाँ वर्ष विशेष पर्वको रुपमा मनाइने गरिन्छ। नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवं शिक्षण संस्थामा सार्वजनिक बिदा दिने परम्परा छ।

विक्रम संवत अनुसार हामी नेपालीहरु आजबाट थप अर्को नयाँ वर्ष २०७८ मा प्रवेश गर्दैछौं। आजबाट नयाँ वर्ष २०७८ हामीसामु उपस्थित छ। यस नयाँ वर्षसँगै सबैमा सुख, शान्ति, लक्ष्य प्राप्तिमा सफलता मिलोस् एभरेस्ट मिडिया हाउस प्रा.लि. एवं एभरेस्ट एफ एम ९३ मेघाहर्ज र एभरेस्ट आवाज परिवार सबैमा शुभकामना व्यक्त गर्दछ।

‘नयाँ वर्षको दिन जे गरिन्छ, वर्षभरि त्यही चलिरहन्छ’, हाम्रो समाजमा एउटा भनाई प्रचलित छ। सफलता प्राप्त गर्न आजका दिन योजना निर्माण एवं सत्संकल्प गर्ने परम्परा समेत रहेको छ।
विक्रम सम्वत् २०७७ जस्तो हामीहरु माझ पछिल्ला शताब्दीका अन्य कुनै वर्षहरूमा रहन सकेनौं। प्रविधि र प्रकोपको अनेक दोसाँधबाट गएको वर्ष गुज्रियो। त्यति मात्र होइन, त्यही अन्यौल र असहजतालाई नयाँ वर्ष २०७७ ले छाडेर गएको छ। आशा गरौं, यो नयाँ वर्षमा हामीलाई सहजता र खुशीले छाउनेछ।

नेपालीहरूको नयाँ वर्षको यो दिनमा संपूर्ण नेपाली मनहरूलाई मात्र नभई विश्वभरकै मानव जातिको सुस्वास्थ्यको कामना गरौं। यो नेपाली नव वर्ष विश्वको लागि नै सुरक्षित अनि स्वस्थ्य सावित बनोस्। यो वर्षदेखि तपाँई हामीहरुको आफ्नै हर पाइलाले हामीहरुलाई सफलता चुमिरहोस्। नयाँ वर्ष २०७८ को हार्दिक मंगलमय शुभकामना !

प्राचीनकालमा राजा विक्रमादित्यले शुरुवात गरेको यो सम्वत् नेपालको औपचारिक, आधिकारिक सम्वत् पनि हो। जसको औपचारिक आत्मसात् नेपालले श्री ३ चन्द्र शम्शेरको पालादेखि भएको पाइन्छ।

विक्रम सम्वत् अनुसार हरेक नयाँ वर्ष वैशाख महिनाको १ गते अर्थात् आजकै दिनबाट सुरु हुन्छ। विक्रम सम्वत् सूर्यसँग सम्बन्धित भएकाले महिनाहरू पनि ग्रह नक्षत्रका नामसँग सम्बन्धित छन्। नेपालको सम्वत् प्रणाली सूर्य पात्रोसँग सम्बन्धित छ।

तराईमा आजको दिनलाई सिरुवा पनि भनिन्छ भने पूर्वी तराईमा जुटशितल भनेर एक–अर्कामा पानी छ्यापेर पर्व मनाउने चलन छ। बारीमा पाकेका केरा, दही लगायतका खानेकुराहरू खाने अनि विशेषतः तरुवा, भरुवा अनि मुन्गा अर्थात् सोइजनको तरकारी खाने चलन आजको दिनमा ब्यापक छ।

पहाडी, मध्यपहाडी भेक अनि हिमाली भेकमा पनि आजका दिन उत्साहका साथ मीठो खाएर, राम्रो लगाउँदै नयाँ वर्ष उत्साह–उमङ्ग साटासाट गर्ने चलन छ। बैशाखका शुरुवाती दिनहरूमा भएका अनि गरेका कुरा वर्षभरि दोहोरिन्छ भन्ने विश्वास राखिन्छ। यो दिनलाई शुरुवाती दिन मीठो खाने, राम्रो लाउने अनि सकारात्मक विचार ल्याउने दिनका रूपमा लिइन्छ।

बैशाख १ गते अर्थात् मेष सक्रान्ति पनि हो। १२ वटा राशिहरूका आधारमा १२ वटा महिना निर्धारण भएका हुन्छन्। बैशाख अर्थात प्रथम महिना अनि यसै महिनामा प्रथम दिन अर्थात १२ वटामध्ये प्रथम राशि मेष राशिको सक्रान्ती पनि।

कसले कस्तो शुभकामना दिए ?

नागरिक अगुवा नारायण वाग्लेले ट्वीटरमा लेखेका छन्, ‘नागरिकले प्रश्न झन् उठाउनेछन्, नागरिकले खबरदारी झन् गर्नेछन्, आउने वर्ष नागरिकले औंला झन् तेर्स्याउनेछन्। सबैलाई नयाँ संघर्ष वर्षको शुभकामना!’

नागरिक समाजका अर्का अगुवा तथा बुद्धिजीवी खगेन्द्र संग्रौलाले ट्वीटरमा लेखेका छन, ‘सत्तामा हिटलर, गोयबल्स, भष्मासुर र धुन्धुकारी मिश्रित क्वाँटी प्रवृत्ति कायमै राखेर पुरानो अनुहारको नयाँ वर्ष आयो। सकल मान्यजन र प्रियजनलाई नयाँ वर्षको प्रतिरोध एवं विद्रोहकारी शुभकामना!’

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ट्वीट गरेका छन्, ‘‘नव वर्ष प्रारम्भ २०७८ !
नयाँ सालको आगमन संगै नयाँ आयाम र नयाँ चुनौतीलाई आत्मसात गरौं ।
नयाँ वर्षमा सबैलाई सुख , शान्ति र स्वस्थकर जीवन मिलोस !
यहि शुभकामना !
जय नेपाल !’

नेपाली काँग्रेस नेता बिमलेन्द्र निधि ट्वीट गर्छन्, ‘देश भित्र र देश बाहिरका सबै दिदीबहिनी दाजुभाइ आफन्त तथा साथीहरुमा नया वर्ष वि.सं.२०७८को
हार्दिक मंगलमय शुभकामना !!!
संघीय लोकतान्त्रिक गणतन्त्र दीर्घायु रहोस् !!!’

काँग्रेसकै अर्का नेता डा.रामशरण महतले ट्वीट गरेका छन्, ‘नेपालको नयाँ बर्ष २०७८ आजदेखि शुभारम्भ! यस अबसरमा स्वदेश र बिदेशमा रहेका संपूर्ण नेपाली दाजुभाई दिदी बहिनीहरूमा सुख,शांति,संबृद्धी,सुस्वास्थ एवं समुन्नतिको लागि हार्दिक मंगलमय शुभकामना! यस बर्ष भित्र संपूर्ण बिश्व समुदायनै कोरोना संक्रमणको महामारीबाट अबिलम्ब मुक्तीको कामना!’

जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराइले ट्वीटरमार्फत शुभकामना दिएका छन्, ‘बि. सं. नयाकक बर्ष २०७८ ले कोभिड–१९ र आधुनिक भष्मासुरबाट सबैलाई मुक्ति देओस् !सबैको जीवनमा सुख,शान्ति,समृद्धि छाओस्! हार्दिक शुभकामना!’

नेकपा एमाले नेतृ विद्या भट्टराईले ट्वीट गरेकी छन्, ‘गतिरोध अन्त्य गर्दै सम्बृद्धिका मार्गहरू निर्माण गर्न सकौं नयाँ बर्ष २०७८ को अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना।’

विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रले ट्वीटरमार्फत शुभकामना दिएका छन्, ‘नयाँ वर्ष २०७८ तथा मुसलमानहरुको महान पर्व रमजानको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछु! हामी बदलिऊँ –– यो देश बदलिन्छ। सक्छौँ। गरौँ। सबैको जय होस्।’

नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेर्रीको ट्वीटरमा शुभकामना छ, ‘नव बर्ष २०७८ को हार्दिक शुभकामना। म, मेरो परिवार, तथा नेपालस्थित अमेरिकी मिशनको तर्फबाट तपाईंहरूको यो बर्ष खुशी, उमंग, सफलता, र सुस्वाथ्यले भरीपूर्ण रहोस् भन्ने कामना व्यक्त गर्न चाहन्छौं।’


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।