गण्डकी प्रदेशका मुख्यमन्त्री विरूद्ध अविश्वास प्रस्ताव दर्ता


     एभरेस्ट आवाज    
     वैशाख २ गते २०७८ मा प्रकाशित



फाइल तस्बिर ।

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ ।

प्रतिपक्षी दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले मुख्यमन्त्री गुरूङविरूद्ध आज प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेका हुन् ।

अविश्वास प्रस्ताव दर्ता गर्दा नयाँ मुख्यमन्त्रीको नाम सिफारिस गर्नुपर्ने व्यवस्था बमोजिम मुख्यमन्त्री पदका लागि कृष्णचन्द्र नेपालीलाई प्रस्ताव गरिएको छ । अविश्वास प्रस्तावमा कांग्रेस, माओवादी र जसपाका गरी २८ सांसदहरुले हस्ताक्षर गरेका छन् ।

अविश्वास प्रस्ताव आउने भएपछि मुख्यमन्त्री गुरुङद्वारा प्रदेशसभा अधिवेशन अन्त्य
आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने निश्चित भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यस अघि नै प्रदेश सभा अधिवेशन नै अन्त्य गरिदिएका छन् । मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिए आफू अल्पमतमा पर्ने देखेपछि मुख्यमन्त्री गुरुङले प्रदेश सभाको अधिवेशन नै अन्त्य गरिदिएका हुन् ।

बुधबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पेश गरेकामा अधिवेशन अन्त्य गरिएको थियो । गुरुङविरुद्ध विपक्षी गठबन्धनले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिरहेका बेला प्रदेश प्रमुख शेरचनले बुधबार राति १२ बजे मुख्यमन्त्री गुरुङको सिफारिसमा संसद अधिवेशन अन्त्यको घोषणा गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।