पावर लिफ्टिङका खेलाडी सम्मानित


     एभरेस्ट आवाज    
     वैशाख ८ गते २०७८ मा प्रकाशित




पोखरा । रानीपौवा स्पोर्टस सेन्टरद्वारा नेसनल पावर लिफ्टिङ च्याम्पियनसिपका बिजेता खेलाडीहरुलाई सम्मान गरिएको छ । बुधवार एक कार्यक्रम बिच पावर लिफ्टिङका खेलाडीहरु टेकेन्द्र गुरुङ, सरस्वती गुरूङ, सन्तोष गुरूङ र सर्मिला साहलाई सम्मानपत्र र खादासहित सम्मान गरिएको हो ।

रानीपौवा स्पोर्टस सेन्टरले विगत केहि वर्षदेखि शारीरिक सुगठन र पावर लिफ्टिङका खेलाडी उत्पादन गरी प्रतियोगितामा पठाइरहेको छ । ‘कोरोना कहरका कारण विगत लामो समयदेखि खेलकूद गतिविधि ठप्प भएको अवस्थामा खेलाडीले मेडल ल्याउँदा निकै खुसी लागेको छ’, स्पोर्टस् सेन्टरका संचालक जितेश प्रधानले भने, ‘यस्तो बेला सहभागिता जनाउनु महत्वपूर्ण थियो तर उनीहरुले मेडल नै लिएर आए । यो हामी पोखरेलीले गर्व गर्नुपर्ने कुरा हो ।’

गत साता काठमाडौंमा आयोजित ‘रूप कार्की मेमोरियल प्रथम नेपाल स्ट्रोङ्गेस्ट नेसनल पावर लिफ्टिङ च्याम्पियनसिप’मा पोखराका टेकेन्द गुरूङ र राजकुमार घोजुले स्वर्ण जितेका थिए । देशभरबाट विभिन्न तौल समूहमा गरेर १ सय २० जना खेलाडी प्रतियोगितामा सहभागी थिए ।

च्याम्पियनसिपमा गुरूङले ४० वर्षमाथि र घोजुले ५० वर्षमाथिको स्पर्धामा स्वर्ण जितेका थिए । टेकेन्द्रले स्क्वाइटमा २ सय ५ केजी, बेन्च प्रेसमा १ सय ४० केजी र डेटलिफ्टमा २ सय १५ केजी गरी ५ सय ६० केजी वजन उचालेका थिए ।

राजकुमारले स्क्वाइटमा १ सय ८७ केजी, बेन्च प्रेसमा १ सय १० केजी र डेटलिफ्टमा १ सय ९० केजी गरी ४ सय ८७ केजी वजन उचालेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।