लमजुङमा खुला ठाडो भाका र बाघचाल प्रतियोगिता


     एभरेस्ट आवाज    
     वैशाख १० गते २०७८ मा प्रकाशित



लमजुङमा वैशाखको आज (शुक्रबार)देखि ठाडो भाका र बाघचाल प्रतियोगिताको आयोजना हुने भएको छ।

दोर्दी गाउँपालिका–६ कीर्तिपुरबेसीको भगवान् आधारभूत विद्यालयमा भोली (शनिबार) सम्म खुला रुपमा प्रतियोगिताको आयोजना गरिने भएको हो।

ठाडोभाका लोककला प्रतिष्ठान नेपालले बेसीसहरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नवराज पहाडीले लोकसंस्कृतिको उत्थानका लागि कार्यक्रम आयोजना गरिएको बताए।

उनले ठाडो भाकाका लागि पुरुष र महिला ३/३ जना सहभागी भई विपरीतलिङ्गी समूहसँग १० टुक्का गाउनुपर्ने प्रावधान राखिएको उल्लेख गरे।

कार्यक्रममा ठाडो भाकाका महानायकको उपाधि बुद्धिमान दुरा ‘धम्पु’ लाई र ठाडोभाका ‘नर्मदा स्मृति’ पुरस्कारबाट लोक संस्कृतिकर्मी कृष्ण कँडेललाई सम्मान गरिने भएको छ।

प्रतियोगिताका लागि ठाडोभाकातर्फ १५ समूह र बाघचालतर्फ ३५ जनाले नाम दर्ता गरिसकेको अध्यक्ष पहाडीले बताउनुभयो । ठाडोभाकातर्फ ९० टोलीको सहभागिता रहनेछ।

ठाडोभाकातर्फ प्रथमलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने तथा सहभागी समूहलाई बाटो खर्चस्वरुप ३/३ हजार रुपैयाँ प्रदान गरिने छ।

बाघचालतर्फ प्रथमलाई ७ हजार, दोस्रोलाई ४ हजार र २ जनालाई २/२ हजार रुपैयाँ शान्त्वना पुरस्कार छ। पत्रकार सम्मेलनमा प्रतिष्ठानका संरक्षक दुरा र सदस्य दुराले ठाडो भाकाका केही टुक्का गाएका थिए। कार्यक्रमको प्रवद्र्धन दोर्दी गाउँपालिकाले गरेको छ।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।