प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २२ औँ स्मृति दिवसका अवसरमा सोमबार ललितपुरस्थित मनमोहन स्मृति प्रतिष्ठानमा श्रद्धाञ्जलि व्यक्त गर्दै उपप्रधानमन्त्री एवं नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेल । तस्वीर सौजन्य:उपप्रधानमन्त्रीको सचिवालय
काठमाडौँ। प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २२ औँ स्मृति दिवसका अवसरमा आज ललितपुरस्थित मनमोहन स्मृति प्रतिष्ठानमा श्रद्धाञ्जलि व्यक्त गरिएको छ । उपप्रधानमन्त्री एवं नेकपा एमाले का महासचिव ईश्वर पोखरेललगायतले सो स्थानमा पुगी पार्टीका तत्कालीन अध्यक्षप्रति श्रद्धाञ्जलि व्यक्त गरे ।
कोभिड–१९ को महामारीका कारण उनको स्मृतिमा थप कार्यक्रम आयोजना गरिएको छैन।सो प्रतिष्ठानका अध्यक्ष पोखरेलले नेता अधिकारीले स्थापना गरेका आदर्श, सिद्वान्त र मूल्यमान्यता कम्युनिष्ट पार्टीका हरेक सदस्यका लागि आज पनि उत्तिकै अनुकरणीय र सान्दर्भिक रहेको बताए । “सरल, शालीन र सादगी जीवन नेपालको कम्युनिष्ट आन्दोलनमा उनले स्थापित गरेका अत्यन्तै मूल्यवान गुणहरु हुन्”, उपप्रधानमन्त्री पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
नेता अधिकारीले नेपालको विभाजित कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन महत्वपूर्ण अभिभावकीय भूमिका खेलेको जनाउँदै पोखरेलले भनेका छन्, “आजको यस विशेष दिनले नेकपा एमालेका सम्पूर्ण नेता–कार्यकर्ताहरुलाई एक ढिक्का भई पार्टी काममा सक्रिय रहन ऊर्जा प्रदान गरोस् भन्ने कामना गर्न चाहन्छु ।
विसं २०५१ मा प्रधानमन्त्री निर्वाचित अधिकारी नेतृत्वको लोकप्रिय सरकारकै जगमा एमाले र कम्युनिष्ट आन्दोलनले विशाल रुप लिएको थियो । तत्कालीन सरकारका लोकप्रिय कार्यक्रम अहिले पनि जनताले उत्साहका साथ स्मरण गरिरहेका छन् । “उनको नेतृत्वको तत्कालीन सरकारको प्रमुख राजनीतिक सल्लाहकारका रुपमा काम गर्दाको त्यो क्षण मेरा लागि पनि सदैव गौरवान्वित छन्”, पोखरेलको विज्ञप्तिमा भनिएको छ । पूर्वप्रधानमन्त्री अधिकारीको २०५६ साल आजकै दिन निधन भएको थियो ।(रासस)
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, साउन १३ गण्डकी प्रदेशमा सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेको संख्या ३३…





