मुख्यमन्त्री गुरूङविरूद्ध अविश्वास प्रस्ताव टेबुल


     एभरेस्ट आवाज    
     वैशाख १३ गते २०७८ मा प्रकाशित




फाईल तस्बिर ।

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्ध प्रदेश सभा बैठकमा अविश्वास प्रस्ताव टेबुल भएको छ । नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले आज प्रदेश सभामा अविश्वास प्रस्ताव टेबुल गरेका हुन् ।

गत वैशाख २ गते मुख्यमन्त्री गुरूङविरूद्ध प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता भएको थियो । प्रस्तावमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका २८ प्रदेश सभा सदस्यहरुले हस्ताक्षर गरेका छन् ।

आफुविरूद्ध अविश्वास प्रस्ताव आउने भएपछि मुख्यमन्त्री गुरूङले गत वैशाख १ गते राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य गरिदिएका थिए । संसद अधिवेशन अन्त्य भएपछि कांग्रेस, माओवादीलगायतका दलले विशेष अधिवेशनको माग गरेका थिए । सोही बमोजिम आजदेखि संसद अधिवेशन सुरु भएको हो ।

अविश्वासबारे मतदानको टुंगो लाग्न बढीमा तीन दिन समय लाग्ने भएको छ । १५ गतेसम्म अविश्वास प्रस्तावमा मतदान हुने सम्भावना रहेको छ । अहिले प्रदेश सभा सदस्यहरुले बैठकमा धारणा राखीरहेका छन् । सांसदहरुले बोलीसकेपछि अविश्वास प्रस्तावमा मतदान हुनेछ । सम्बोधन गर्ने सांसदको संख्याले कहिले मतदान हुने भनेर टुंगो लाग्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।