सिद्ध माविमा ‘गङ्गारानी विप्लव अक्षयकोष’ स्थापना


     जुना थापा    
     वैशाख १४ गते २०७८ मा प्रकाशित




पोखरा । सिद्ध मावि पोखरा १५ फलेपाटनमा गंगारानी विप्लव अक्षयकोष स्थापना गरिएको छ । पोखरा १५ फलेपाटन निवासी समाजसेवी राजेश भण्डारी र बिन्दु भण्डारीले आफ्नो स्वर्गीय छोरा विप्लव भण्डारीको वार्षिक पुण्यतिथिमा सिद्ध माविलाई रु. १ लाख ५ अक्षयकोषका निमित्त प्रदान गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका वडा नम्बर १५ का वडाध्यक्ष प्रकाश पौडेलले वडाको एकमात्र सामुदायिक विद्यालय सिद्ध माविमा निम्न वर्गका विद्यार्थीहरु अध्ययन गर्ने र उनीहरुको शैक्षिक प्रगतिका लागि विद्यालय प्रशासन मात्र नभई वडा नम्बर १५ पनि लागी परेको बताए । समाजका सहयोगी एवं समाजसेवीहरुको सहयोगद्धारा स्थापित अक्षयकोषको मूलधन खर्च नगरी व्याजबाट आएको रकमबाट गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री, खाजा, लत्ताकपडाजस्ता आवश्यकतानुसार खर्च गरिने पौडेलले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवबहादुर भण्डारीले स्वर्गीय विप्लवको चीर शान्तिको कामना गर्दै भण्डारी परिवारले सिद्ध माविको प्रगति र उन्नयनमा विगतदेखि नै सहयोग गर्दै आएको र विद्यालयमा पहिलोपटक कम्प्युटर कक्षा सञ्चालानार्थमा पनि भण्डारी परिवारको महत्वपूर्ण योगदान रहेको बताए ।

विद्यालयका प्रधानाध्यापक गुरुदत्त कोइरालाले विद्यालयको बारेमा जानकारी दिँदै सहयोग प्रदान गरेकामा भण्डारी परिवारको सुस्वास्थ्य, दीर्घायू तथा उत्तरोत्तर प्रगतिको कामना गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।