राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही अचानक गायब भएपछि पूर्व निर्धारित कार्यतालिका अनुसार बुधबार अविश्वास प्रस्ताव निर्णयार्थ प्रस्तुत भएन । विहानसम्म सम्पर्कमा रहेका सांसद शाही बैठक शुरु हुनुभन्दा केहिबेर पहिलेदेखि सम्पर्कविहीन् भएपछि उनको खोजीका लागि संसद बैठक नै स्थगित गरिएको हो ।
कार्यसूची अनुसार बुधबार दिउँसो १ बजे बस्ने बैठकमा अविश्वास प्रस्तावमाथि छलफल गर्ने र त्यसमा उठेका प्रश्नहरुको जवाफ मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले दिने कार्यसूची तय थियो । कार्यसूची अनुसार बैठक चलिरहँदा जनमोर्चाका सांसद शाही र स्वतन्त्र सांसद राजिव गुरुङ उर्फ दीपक मनाङे बैठकमा उपस्थित थिएनन् । लगत्तै अविश्वास प्रस्तावको पक्षधर भनिएका शाहीको खोजी शुरु भयो । उनलाई फोन गर्दा फोन स्वीच अफ थियो । त्यसपछि अविस्वास पक्षधरहरुले शाहीलाई प्रलोभनमा पारेको हुनसक्ने आशंका गरे । नभए अपहरणसमेत गरेको हुनसक्ने उनीहरुको आशंका थियो ।
व्यापक खोजी गर्दासमेत शाही नभेटिएपछि जनमोर्चाकी संसदीय दलकी सचेतक पियारी थापाले शाहीको खोजि गर्न माग गर्दै संसद सचिवालयमा निवेदन दिईन् । निवेदनमा उनले शाहीको अवस्था पत्ता लगाउन, जीवन रक्षा गर्न तथा उनी नभेटिएसम्म संसदको कामकारवाही अगाडि नबढाउन माग गरिएको थियो ।
शाही उपस्थित नहुँदा अविश्वास प्रस्ताव फेल हुन्थ्यो । किनकी अविश्वास प्रस्ताव पास हुन ३१ सदस्य आवश्यक पर्छ । ६० सदस्य रहेको गण्डकी प्रदेश सभामा अविश्वास प्रस्ताव पक्षधर नेपाली कांग्रेससँग १५, नेकपा माओवादी केन्द्रसँग ११ (सभामुख बाहेक), जनता समाजवादी पार्टी (राजपा)का २ र राष्ट्रिय जनमोर्चाका ३ सांसद गरेर ३१ सांसद छन् । तर शाही नहुँदा ३० सदस्य मात्र हुने भएपछि अविश्वास प्रस्ताव फेल हुने सम्भावना प्रवल थियो । त्यहि भएर शाही नभेटिएसम्म संसदको कामकारवाही अगाडि नबढाउन माग गरिएको थियो । त्यसमा कांग्रेस, माओवादी र राजपाको समर्थन थियो ।
शाहीको अवस्था पत्ता नलगाएसम्म बैठक स्थगित गर्न माग गरे अनुसार नै सभामुख नेत्रनाथ अधिकारीले संसद बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरे ।
अविस्वास प्रस्ताव निर्णयार्थ पेश हुने दिन संसद बैठकमा शाही अनुपस्थित हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । एकातिर उनलाई सत्तापक्षले प्रलोभनमा पारिएको आशंका गरिएको छ भने अर्को तिर सत्तापक्षले अपहरण गरेको हुनसक्ने आंकलन दिनभरी नै गरियो । तर यसको औपचारिक पुष्टि भने हुन बाँकी छ ।
शाहीलाई झैं अन्य सांसदलाई पनि प्रलोभनमा पार्ने वा अपहरण गर्नसक्नेबारे कांग्रेस, माओवादी र जसपाले पहिल्यै अनुमान गरेको थियो । सोहि डरका कारण उनीहरुले आफ्ना सांसदहरुलाई पोखराको लेकसाईडस्थित टुकी रिसोर्ट र होटल गुडविलमा राखेका थिए । कांग्रेस र माओवादी केन्द्रका २६ सांसदलाई टुकी रिसोर्ट र जसपाका २ जनालाई होटल गुडविलमा राखिएको थियो । जनमोर्चाका सांसदहरुले भने अविस्वा प्रस्तावमा हस्ताक्षर नगरेका कारण घरमै बसेका थिए । अविश्वास प्रस्तावमा जनमोर्चाले हस्ताक्षर नगरेपनि समर्थन रहेको थियो । जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापापनि यहि सरकारको निरन्तरताको पक्षमा भएपनि पार्टीको केन्द्रीय समितिले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको प्रतिगामी कदमलाई साथ दिने मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङबिरुद्ध मतदान गर्ने निर्णय गरेको थियो । सोहि निर्णय अनुसार जनमोर्चाले अविस्वास प्रस्तावको पक्षमा मतदान गर्ने अनुमान गरिएको थियो । तर पहिलेदेखि वर्तमान सरकारको पक्षमा उभिएका कृष्ण थापा संसदमा उपस्थित भएपनि उनकै पार्टीका खिमविक्रम शाही भने अनुपस्थित हुँदा अचम्म मानिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







