बेपत्ता सांसद शाहीको कोरोना रिपोर्ट दुई थरी कसरी ?


     एभरेस्ट आवाज    
     वैशाख १५ गते २०७८ मा प्रकाशित




अविस्वास प्रस्ताव निर्णयार्थ पेस हुने बेला एक्कासी गायब भएका राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही चरक अस्पतालको आईसियूमा भेटिएका छन् । शाही अनुपस्थित भएपछि उनकै पार्टी जनमोर्चाले खोजी गरिदिन माग गर्दै संसद सचिवालय निवेदन दिएको थियो । निवेदनमा सांसद शाही नभेटिएसम्म संसद बैठक स्थगित गर्न माग गरिएपछि सभामुख नेत्रनाथ अधिकारीले संसद बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरे ।

संसद बैठक चलिरहँदा शाही गायब भएपछि अनेकथरी आशंका भए । कसैले उनलाई सत्तापक्षले अपहरण गरेको आशंका गरे भने कसैले प्रलोभनमा परेर गायब भएको आशंका गरे । यहि आशंकाकाबीच उनको खोजी जारी राखियो । यहि बिचमा उनी पोखराको पृथ्वीचोकस्थित चरक मेमोरियल कलेजको आईसियूमा भेटिएका छन् ।

सांसद शाही कोरोना भएर चरक अस्पतालको आईसियूमा भर्ना भएको अस्पतालले दाबी गरेको छ । उनको उपचार गर्दै गरेको तस्बिरपनि सार्बजनिक भएको छ । तर उनलाई कोरोना भएकोबारे भने आशंका गरिएको छ ।

सांसद शाहीले अन्य सांसदले झैं मंगलबार साँझ कोरोना जाँचका लागि स्वाब दिएका थिए । मुख्यमन्त्री र सभामुखसहित ६० जना नै सांसदहरुले एकसाथ दिएको स्वाबको रिपोर्टमा शाहीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । तर उनले सोहि समयमा पोखराको न्यूरोडस्थित लाइफ केयर डाइग्नोष्टिक प्रालिमासमेत स्वाब दिएको पाइएको छ । सो ल्यावमा भने उनको कोरोना रिपोर्ट पोजिटिभ देखिएको छ ।

सांसद शाहीले मुख्यमन्त्री, सभामुखलगायतले दिएको ठाउँमा स्वाब दिएर फेरी किन नीजि ल्याव लाईफ केयरमा पनि स्वाब दिए भन्ने प्रश्न उठेको छ । सरकारको आधिकारिक ल्यावमा स्वाब दिएर फेरि नीजि ल्यावमा स्वाब दिनुको कारण पत्ता लाग्न सकेको छैन । यसले गर्दा उनको रिपोर्टप्रति आशंका उब्जिएको छ । सरकारी ल्यावमा नेगेटिभ रिपोर्ट आइरहँदा नीजिमा पोजिटिभ रिपोर्ट आउनुलाईपनि आश्चर्यका रुपमा हेरिएको छ । कतै उनले नक्कली रिपोर्ट बनाएर संसद बैठक छल्न खोजेका त होइनन् भन्ने आशंकासमेत उब्जाएको छ । यद्वपी यसको औपचारिक पुष्टि हुन सकेको छैन ।

सांसद शाहीले भने आफू कोरोना भएर उपचाररत रहेको बताएका छन् । कोरोना नभई उपचारका लागि बसेको भन्ने हल्लाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उनले बताएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।