निषेधज्ञाका कारण पोखरा स्पोर्टस अवार्ड स्थगित


     एभरेस्ट आवाज    
     वैशाख १६ गते २०७८ मा प्रकाशित




पोखरा । पोखरा स्पोर्टस अवार्ड निषेधज्ञाका कारण स्थगित भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बैशाख २० गतेका लागि तय भएको अवार्ड कास्की सहित विभिन्न जिल्लामा गरिएको निषेधाज्ञाका कारण स्थगित भएको मञ्चले विज्ञप्ती मार्फत जनाएको छ ।

मञ्चले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा विभिन्न ७ विधामा अवार्ड वितरणको तयारीलाई अन्तिम चरणमा पुर्याएको भएपनि विश्वभर फैलिएको कोभिड–१९ को नयाँ भेरियन्टको चेन ब्रेकका लागि भन्दै जिल्ला प्रशासन कार्यालयले लागू गरेको निषेधाज्ञाका कारण पूर्व निर्धारित कार्यक्रमलाई हाललाई स्थगित गरिएको मञ्चद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

मञ्चका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा बिहीबार बसेको आकस्मिक बैठकले अवार्ड कार्यक्रमलाई हालका लागि स्थगित गर्ने निर्णय गरेको मञ्चका अध्यक्ष गिरी र महासचिव विजय नेपालद्वारा संयुक्त रुपमा जारी विज्ञप्तीमा भनिएको छ ।

मञ्चले ‘गण्डकी प्रदेशको राजधानी पोखरामै निषेधाज्ञा जारी गरिएपछि पूर्व निर्धारित अवार्ड समारोह आयोजना गर्न तत्काल विषम परिस्थिति सिर्जना हुन गयो, उपयुक्त समय मिलाएर पछि वितरण गरिने गरी अवार्ड समारोह स्थगित गर्ने निर्णय भएको छ ।’ विज्ञप्तीमा उल्लेख छ ।

गत वर्षसमेत कोभिड–१९ को महामारीका कारण लकडाउन र निषेधाज्ञा हुँदा पाँचौं स्पोर्टस् अवार्ड एक वर्ष पछाडी धकेलिएको र अहिले अघिल्लो वर्ष २०७६ लाई पनि समेट्ने गरि पाँचौं पोखरा स्पोर्टस् अवार्ड २०७६ ७७ गए गरिएको थियो ।

मञ्चले लाइफटाइम अचिभमेन्ट अर्वाड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदयीमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेलसंग र दुई जना खेल पत्रकारलाई नगदसहित सम्मान गर्ने गरि उत्कृष्ट ३ को मनोनयन समेत सार्वजनिक गरिसकेको छ ।

साथै मञ्चले विषमपूर्ण अवस्थामा स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षितसाथ सञ्चारकर्ममा लाग्न र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरि सुरक्षितरुपले पत्रकारलाई काम गर्ने वातावरण मिलाउन सञ्चारगृहहरुलाई आग्रह समेत गरेको छ ।

कास्कीमा कोरोना भाइरस संक्रमणको चेनलाई रोक्न भन्दै जिल्ला प्रशासन कार्यालयले बैशाख १५ देखि २१ गतेसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।