म्याग्दीको कालीपुलबाट होल्डिङ सेन्टर संचालन


     एभरेस्ट आवाज    
     वैशाख १९ गते २०७८ मा प्रकाशित




म्याग्दी भित्रिने प्रमुख नाका कालीपुल बसपार्कमा शुक्रबारदेखि होल्डिङ सेन्टर संचालन आएको छ।

फैलिएको दोस्रो लहरको कोरोना भाइरस रोकथामका लागि विदेश र बाहिरी जिल्लाबाट आउने–जाने व्यक्तिहरूका लागि होल्डिङ सेन्टर संचालन गरिएको हो।

जिल्ला प्रशासन कार्यालयको समन्वयमा जिल्लाका सबै स्थानीय तहसँग सहकार्य गरेर कालिपुलको पर्यटक सूचना केन्द्रको भवनमा होल्डिङ सेन्टर तथा नागरिक सहायता कक्ष संचालन गरिएको प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बताएका छन्।

होल्डिङ सेन्टरमा बाहिरी जिल्ला र विदेशबाट म्याग्दी आउने नागरिकहरुको बिस्तृत विववरणसहितको अभिलेख राख्ने र सम्बन्धित वडाका जनप्रतिनिधीसँग समन्वय गरेर घर पठाउने व्यवस्था मिलाइने छ।

कोरोना फैलिएका जिल्ला र शहरबाट आउनेहरू सिधै गाउँमा पुगेर क्वारेन्टिनमा नबसी अन्य नागरिकको सम्पर्कमा जाँदा कोरोना फैलने खतरा देखिएपछि कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्रले होल्डिङ सेन्टरलाई पुनः संचालन गर्ने निर्णय गरेको थियो।

यसअघि, गत असोजसम्म बेनीमा होल्डिङ सेन्टर संचालन भएको थियो। होल्डिङ सेन्टरमा म्याग्दीका ६ वटै स्थानीय तहका एक÷एक जना कर्मचारी खटिएका छन्। कालीपुलको चेकपोष्टबाट भित्रिने सवारी साधनका यात्रुलाई सिधै होल्डिङ सेन्टरमा ल्याएर झारिनेछ।

चेक पोष्टदेखि होल्डिङ सेन्टरसम्म सवारी साधन र यात्रुलाई ल्याउन सुरक्षाकर्मीले निगरानी गर्ने भएका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।