निषेधाज्ञाका कारण कक्षा ८ को परीक्षा प्रभावित


     एभरेस्ट आवाज    
     वैशाख २० गते २०७८ मा प्रकाशित




स्याङ्जा । स्याङ्जामा मंगलबारबाट निषेधाज्ञा हुने भएपछि कक्षा ८ को जारी परीक्षा प्रभावित भएको छ ।

स्याङ्जाको फेदीखोला गाउँपालिकाले निषेधाज्ञाका कारण भौतिकरुपमा उपस्थित भएर लिइने सबै परीक्षा स्थगन गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ ।

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै मंगलबारदेखि निषेधाज्ञाको घोषणा गरेसंगै पालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको सोमबार बसेको बैठकले वैशाख २१ देखि २३ गतेसम्मका सबै परीक्षाहरु सञ्चालन नगर्न निर्देशन दिएको हो ।

यस्तै बैठकले भौतिक रुपमा उपस्थित भई परीक्षा सञ्चालन नभएपछि त्रैमासिक र अर्धवार्षिक परीक्षाको आधारमा मुल्याङ्कन गरी विषयगत नम्वर पठाउने व्यवस्था गर्न भनेको छ । पठाइएका नम्बरमा अस्वभाविकता देखिएमा अभिलेख समेत पेश गर्नपर्ने पनि निर्देशनमा उल्लेख गरिएको छ ।

त्यसैगरी, अन्य कक्षाका बाँकी परीक्षा समेत पहिले भएका परीक्षाको आधारमा मूल्याङ्कन गरी अंक प्रदान गर्ने र आगामी जेठ ४ गते शैक्षिक सत्र २०७७ को वार्षिक परीक्षाफल प्रकाशित गर्ने निर्णय भएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रामचन्द्र गुरुङद्वारा हस्ताक्षरित निर्देशनमा भनिएको छ ।

पालिकाभित्र वैशाख १६ गतेबाट कक्षा ८ को वार्षिक परीक्षा सञ्चालन भइरहेको थियो ।

स्याङ्जामा मंगलबारदेखि वैशाख मसान्तसम्म अत्यावशेष बाहेकका सबै सेवा बन्द गर्न प्रशासनले आदेश गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।