असंवैधानिक कदम चाल्ने वित्तिकै राजिनामा दिन खोजेको थिएँ, तर अहिले बिना कारण हटाइयो : शेरचन


     एभरेस्ट आवाज    
     वैशाख २१ गते २०७८ मा प्रकाशित



गण्डकी प्रदेश प्रमुखबाट पदमुक्त भएका अमिक शेरचनले आफूले पहिल्यै राजिनामा दिन खोजेपनि प्रचण्डले रोकेको बताएका छन् । सरकारले पदमुक्त गरेपछि निवास छाड्नुअघि पत्रकार सम्मेलन गरेर शेरचनले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चाल्ने वित्तिकै आफूले राजिनामा दिन खोजेपनि तत्कालिन नेकपा अध्यक्ष प्रचण्डले रोकेको उनको भनाई थियो । अहिलेपनि भनेको भए राजिनामा दिन तयार रहेर बसेको थिएँ भन्दै उनले भने,‘असंवैधानिक कदम चाल्ने वित्तिकै राजिनामा पत्र खल्तीमा राखेर प्रचण्डलाई जानकारी गराउन गएको थिएँ । तर खै उहाँलाई फेरी पार्टी एकता हुन्छजस्तो लाग्यो कि के लाग्यो, मलाई राजिनामा नदिनुस्, तपाईं त्यहाँ बसिरहनुस् भनेर राजिनामा दिन दिनुभएन ।’ ढिलै भएपनि पदमुक्त भएकोमा आफू खुशी रहेको उनले बताए । ‘ओलीजी र पछि प्रचण्डजीले आग्रह गर्दापनि नस्वीकारेको पद पछि पार्टीले नै निर्णय गरेपछि बाध्य भएर स्वीकारेको पद हो यो । अधिकारविहीन खुला जेलबाट मुक्त गरिदिनु भएकोमा पनि धन्यबाद ।’–उनले भने ।

प्रदेश प्रमुखको जिम्मेवारीमा १८ महिना २ दिन गुजारेका उनले आफू रहरले प्रदेश प्रमुख नबनेको बताए । म बाध्यताले प्रदेश प्रमुख बनेको हुँ,उनले भने,‘म रहरले यहाँ आएको होइन, मलाई यहाँ बसिरहनु पनि थिएन ।’ मैले कहिल्यै लाभको लागि बार्गेनिङ गरिनँ,,उनले भने,‘पदमुक्त गर्नुअघी भनेको भए राजिनामा दिन्थेँ ।’

निरंकुशतातर्फ लागेको सरकारले आफूलाई हटाएकोसमेत शेरचनले आरोप लगाएका छन् । उनले असंवैधानिक कदममार्फत निरंकुशतातर्फ लागेको ओली सरकारले आफूलाई पदमुक्त गरेको आरोप लगाएका हुन् । ‘राजनीतिक प्रतिशोध भन्दापनि निरंकुशतातर्फ सरकार लागेको छ । त्यहि भएर मलाईपनि पदमुक्त गरेको हो भन्ने मलाई लाग्छ ।’–उनले भने । होइन भने मलाई किन हटायो ? प्रश्नोत्तर शैलीमा उनले भने,‘मैले कहाँ गल्ती गरेँ ? मैले कहाँ असहयोग गरेँ ? यदि गरेको भए भन्नु प¥यो नि ! मैले त त्यस्तो केहि गल्ती गरेकै छैन ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।