पोखरा । गण्डकी प्रदेश सभा बैठक बैशाख २७ गते सोमबार बस्ने भएको छ । विहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रदेश सभाको बैठक तय गरेको हो ।
बैठकले यसअघीको कार्यतालिका अनुसारै प्रदेश सभा बैठक अगाडि बढाउने निर्णयसमेत गरेको सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए । यसअघी बैशाख १५ गते अविस्वास प्रस्ताव निर्णयार्थ पेश गर्ने कार्यसूची भएपनि राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही बेपत्ता भएपछि बैठक अचानक स्थगित भएको थियो । जनमोर्चाकी सांसद पियारी थापाले सांसद शाही सम्पर्क विहीन भएकाले उनको खोजी गर्नुका साथै उनलाई नभेटिएसम्म प्रदेश सभा बैठक स्थगित गर्न माग गर्दै संसद सचिवालयमा निवेदन दिएका थिए । सोहि निवेदनका आधारमा सभामुखले बैठक स्थगित गरेका थिए ।
बैठक स्थगित गरेलगत्तै सांसद शाही पोखराको नागढुंगास्थित चरक मेमोरियल अस्पतालको आईसियूमा भेटिएका थिए । उनलाई सत्तापक्षले अपहरण गरेको वा प्रलोभनमा पारेको हुनसक्ने आशंका गरिएपनि त्यसको औपचारिक पुष्टि हुन सकेको छैन ।
यसबिचमा सत्तारुढ नेकपा एमालेले सभामुखले दलहरुसँग छलफल नगरी अनिश्चितकालका लागि बैठक स्थगित गरेको भन्दै असन्तुष्टि जनाउँदै आएको थियो । कार्यसूची तय भएर बैठक चलिरहँदा सभामुखले बैठक स्थगित गरेकाले अब अविस्वास प्रस्ताव निस्कृय हुने उसको भनाई थियो । त्यस्तै मुख्यमन्त्री पृथ्वी सुब्बाले त सभामुख एकलौटी रुपमा चलेको भन्दै सभामुखको राजिनामा माग्नुपर्नेसमेत बताएका थिए । उनले १ जना सांसद उपस्थित नहुँदा बैठक स्थगित गरेकाले आगामी बैठकमा आफूले दैनिक १ जना सांसद अनुपस्थित गराउने र खोजीका लागि निवेदन दिएर बैठक स्थगित गराउने चेतावनीसमेत दिएका थिए ।
एमालेको असन्तुष्टिका बाबजुद बैठकको मिति तय भएपछि अविस्वास प्रस्तावपनि अघि बढ्ने पक्का भएको छ । बैशाख २७ गतेको बैठक बैशाख १५ गतेको बैठकको निरन्तरता भएको सभामुख नेत्रनाथ अधिकारीले बताए । ‘गत बैशाख १५ गते जहाँ पुगेर बैठक स्थगित भएको थियो । त्यहिँबाट बैठक अगाडि बढ्छ’–सभामुख अधिकारीले भने । उनका अनुसार सो दिन अविस्वास प्रस्ताव माथि बोल्न बाँकी केहि सांसदले आ–आफ्नो धारणा राख्नेछन् । त्यसपछि प्रस्तावमाथि उठेका प्रश्नहरुको जवाफ मुख्यमन्त्री वा मुख्यमन्त्रीले तोकेको प्रतिनिधिले जवाफ दिने सभङामुख अधिकारीले जानकारी दिए । मुख्यमन्त्रीले जवाफ दिइसकेपछि सोहि दिन अविस्वास प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ ।
बैशाख २७ गते निर्णयार्थ प्रस्तुत हुने अविस्वास प्रस्तावको पक्षमा बहुमत पुग्ने अनुमान गरिएको छ । किनकी ६० सदस्य रहेको गण्डकी प्रदेश सभामा अविस्वास प्रस्तावको पक्षमा हालसम्म ३१ सांसद उभिएका छन् । जसमा बेपत्ता भई सार्वजनिक भएका खिमविक्रम शाहीलाई पनि जोडिएको छ । प्रस्तावको पक्षमा नेपाली कांग्रेसको १५, नेकपा माओवादी केन्द्रको ११ (सभामुख बाहेक), जनता समाजवादी पार्टी (जसपा) २ र राष्ट्रिय जनमोर्चाका ३ सांसद छन् । यद्वपी जनमोर्चाका शाहीप्रति अविस्वास प्रस्ताव पक्षधर दलहरु नै विश्वस्त छैनन् । उसो त सो पार्टीका संसदीय दलका नेता कृष्ण थापाप्रतिपनि केहिले शंकाको दृष्टिले हेर्छन् । उनलाई शंकाको दृष्टिले हेर्नुको कारण भनेको अविस्वास प्रस्ताव आउनु अगाडिसम्म उनी मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारलाई निरन्तरता दिनुपर्ने पक्षमा अडिग थिए । अविस्वास प्रस्ताव आएपछिपनि उनी यसैमा अडिग रहेको बताउने गर्थे । त्यसपछि भने राजमोका केन्द्रीय समितिले अविस्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय ग¥यो । सो निर्णय पूर्ण रुपमा कार्यान्वयन गर्न पार्टी अध्यक्ष चित्रबहादुर केसीले नै निर्देशन दिएपछि भने उनी गले । संसदीय दलका नेता थापा अहिले भने पार्टीको निर्णय कुनैपनि हालतमा कार्यान्वयन गर्ने बताउँछन् । उनले भने,‘हामी अविस्वास प्रस्तावको पक्षमा एकमतले मतदान गर्छौं, हामी पार्टी निर्णयको पक्षमा छौं, जसरीपनि कार्यान्वयन गर्छौं ।’
सत्तारुढ नेकपा एमालेको २७ सांसद रहेका छन् । त्यसमा स्वतन्त्र उमेद्वारी दिएर जितेका राजिव गुरुङ उर्फ मनाङे थपिएका छन् । जता बहुमत पुग्छ उतै उभिने भन्दै आएका सांसद मनाङेलाई मुख्यमन्त्री गुरुङले युवा तथा खेलकुद मन्त्री बनाइसकेका छन् । त्यसैले अविस्वास प्रस्तावको विपक्षमा हालसम्म २८ सांसद देखिएका छन् । तर संसद गणितीय खेल हो, जतिखेरपनि जेपनि हुनसक्ने भएकाले यसै भन्न सकिने अवस्था भने छैन । प्रधानमन्त्री केपी शर्मा ओलीको विस्वास पात्र मानिने पृथ्वी सुब्बा गुरुङबिरुद्धको अविस्वास प्रस्ताव फेल गराउन जुनसुकै खालको हथकण्डा मच्चाउन सक्ने आंकलनपनि गरिएको छ । जसका लागि मुख्यमन्त्रीदेखि प्रधानमन्त्रीसम्मपनि लाग्नसक्ने विपक्षी दलहरुको आशंका छ । तर आफ्ना सांसद जोगाउन आफूहरु सचेत रहेको उनीहरुको भनाई छ ।
यसअघी यी दलहरुले सांसद जोगाउन पोखराको एक रिसोर्टमा ४ दिनसम्म राखेका थिए । तर संसद बैठक स्थगित भएपछि उनीहरु आ–आफ्नो घर फर्किएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







