लमजुङमा बढ्न थाल्यो घरेलु हिंसा


     एभरेस्ट आवाज    
     वैशाख २५ गते २०७८ मा प्रकाशित




प्रतिकात्मक तस्बीर

चेतनाको कमी, गरिबी तथा अशिक्षा र बेरोजगार लगायतका कारण लमजुङ जिल्लामा घरेलु हिंसा बढ्न थालेको हो।

चालू आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म जिल्ला प्रहरी कार्यालय लमजुङमा ६५ वटा घरेलु हिंसासम्बन्धी उजूरी परेको जिल्ला प्रहरी कार्यालयअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार ती उजूरी परेकामध्ये ३६ वटा मिलापत्र भइसकेको छ भने २१ वटा अदालती प्रक्रियामा गएको र ८ वटा मुद्दाको काम भइरहेको छ।

गत आर्थिक वर्षमा भन्दा यस चालू आवको ९ महिनासम्ममा ४ वटा घरेलु हिंसा बढी भएको देखिन्छ। गत आर्थिक वर्षमा कार्यालयमा घरेलु हिंसासम्बन्धी ६१ वटा उजूरी परेका थिए। यसमध्ये ४५ मिलापत्र, ६ अदालती प्रक्रियामा गएको र १० वटाको काम भइरहेको केन्द्रको प्रमुख तथा जिल्ला प्रहरी कार्यालय प्रहरी सहायक निरीक्षक नन्दु अधिकारीले बताएका छन्।

उनका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा घरेलु हिंसासम्बन्धी १२ वटा निवेदन परेको थियो। सो निवेदनमध्ये ९ मिलापत्र भएको र ३ वटा मुद्दाको काम भइरहेको छ। त्यस्तै, आर्थिक वर्ष २०७४/०७५ मा सबैभन्दा धेरै ७९ वटा उजूरी परेको थियो। जसमध्ये ४५ वटा मिलापत्र भइसकेको छ। १२ वटा अदालती प्रक्रियामा गएको र २२ वटा काम भइरहेको बताइएको छ।

त्यस्तै, यस चालु आवको साउनदेखि चैत मसान्तसम्म प्रहरी कार्यालयमा २७ वटा ठाडो उजूरी परेको छ। जसमध्ये १८ मिलापत्र भएको, १ वटा मुद्दाको अदालती प्रक्रियामा गएको र ८ वटा मुद्दाको काम भइरहेको छ। गत आव २०७६/०७७ मा कार्यालयमा १८ वटा ठाडो उजूरी परेकामा ११ मिलापत्र भएको, १ मुद्याको अदालती प्रक्रियामा गएको र ६ वटाको काम भइरहेको प्रहरी सहायक निरीक्षक अधिकारीले बताए।

त्यस्तै, २०७५/०७६ मा सबैभन्दा धेरै १ सय २६ वटा ठाडो उजूरीका निवेदन परेकोमा ९१ मिलापत्र, २३ अदालती प्रक्रियामा र १२ वटा मुद्दाको काम भइरहेको उनले बताए। त्यस्तै, आव २०७४/०७५ मा ३८ वटा ठाडो उजूरी परेकोमा २९ मिलापत्र भएको र ९ वटा मुद्दाको काम भइरहेको छ।

जिल्लामा घरेलु हिंसा न्यूनीकरण गर्न विभिन्न सचेतना कार्यक्रम, नाटक, पोष्टर वितरण लगायतका क्रियाकलाप गर्दै आएपनि घरेलु हिंसामा कमी आउन नसकेको प्रहरी सहायक निरीक्षक अधिकारीले बताए।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।