फाइल फोटो
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पदबाट राजिनामा दिएका छन् । मुख्यमन्त्री गुरुङले प्रदेश प्रमुख सीता पौडेलसमक्ष राजिनामा दिएका हुन् । मुख्यमन्त्री गुरुङबिरुद्ध ल्याइएको अविस्वास प्रस्तावमाथि सोमबार मतदान हुने कार्यसूची थियो । तर उनले एक दिन अघि नै राजिनामा दिए ।
प्रदेश प्रमुख पौडेलले मुख्यमन्त्री गुरुङको राजिनामा स्वीकृत गरेकी छन् । कोरोना भएर निवासको आइसोलेसनमा बसेका मुख्यमन्त्री गुरुङले अपराह्न ३ बजे पदबाट राजिनामा दिएको पत्र प्रदेश प्रमुखलाई बुझाउन प्रतिनिधि पठाएका थिए । लगत्तै प्रदेश प्रमुखले राजिनामा पत्र स्वीकृत गरेको श्रोतले बताएको छ ।
प्रधानमन्त्री केपी ओलीका सारथी मानिने मुख्यमन्त्री गुरुङले अविस्वास प्रस्ताव पारित हुने छनक देखेपछि त्यसको सामना गर्न चाहेनन् । बरु राजिनामा दिन उपयुक्त ठान्दै एक दिन अगावै राजिनामा दिए । तर राजिनामा उनले त्यसै दिएका भने होइनन् । अविस्वास प्रस्तावमा बहुमत पुगेपनि नया सरकार गठनमा बहुमत नपुग्ने आंकलनसहित उनले राजिनामा दिएको श्रोतको दाबी छ । बहुमत नपुगेपछि ठूलो दलको हैसियतमा अल्पमतको सरकार बनाउन पाउने आशाका साथ उनले राजिनामा दिएको श्रोत बताउँछ ।
राष्ट्रिय जनमोर्चाले नया सरकार बनाउन सहयोग नगर्ने मुख्यमन्त्रीको आंकलन छ । अविस्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको जनमोर्चाले नया सरकारमा नजाने बताइसकेको छ । यहि निश्कर्ष बुझेका मुख्यमन्त्रीले नया सरकार बनाउनपनि सहयोग नगर्ने अपेक्षा गरेका छन् । ६० सदस्य रहेको गण्डकी प्रदेश सभामा राष्ट्रिय जनमोर्चाका ३ सांसद छन् । जुन मत बहुमतीय सरकारका लागि निर्णायक मत हो । उसको मतबाहेक प्रदेशमा अहिले बहुमतको सरकार बन्ने अवस्था छैन । प्रदेश सभामा एमालेको स्वतन्त्र सांसद राजिव मनाङेसहित २८, नेपाली कांग्रेसको १५, नेकपा माओवादी केन्द्रको ११ (सभामुख बाहेक) र जनता समाजवादी पार्टी (जसपा)का २ सांसद छन् ।
नया सरकार बनाउन एमालेको २८ मा जनमोर्चाको ३ सांसद थपिदा बहुमत ३१ सदस्य पुग्छ । तर नेपाली कांग्रेस, माओवादी र जसपा ३ वटा पार्टी मिल्दा २८ पुग्छ । यी ३ दलले मिलेर मुख्यमन्त्री गुरुङबिरुद्ध अविस्वास प्रस्ताव ल्याएका थिए । त्यसमा जनमोर्चाको समर्थन रहेको थियो । तर कार्यान्वयन गर्नेमा भने आशंका गरिदै आएको थियो । किनभने गत बैशाख १५ गते अविस्वास प्रस्तावमाथि मतदान हुने दिन जनमोर्चाका सांसद खिमविक्रम शाही बेपत्ता भएका थिए । मतदान हुने दिन नै सांसद बेपत्ता भएपछि उनको खोजीका लागि जनमोर्चाकी सचेतक पियारी थापाले सांसद शाहीको खोजी गरिदिन र त्यतिञ्जेल संसद बैठक स्थगित गर्न माग गरेका थिए । सोहि माग अनुसार सभामुखले बैठक स्थगित गरेका थिए । बैठक स्थगित भएलगत्तै बेपत्ता भनिएका सांसद पोखराको चरक अस्पतालको आईसियूमा भेटिएको थियो । कोभिड भएर अस्पताल गएको भनिएपनि उनी प्रलोभनमा परेको वा अपहरणमा परेको आशंका गरिएको थियो । यद्वपी त्यसको औपचारिक पुष्टि हुन सकेको छैन । उसो त जनमोर्चाका प्रदेश संसदीय दलका नेता कृष्ण थापापनि मुख्यमन्त्री गुरुङ नेतृत्वकै सरकारको पक्षमा थिए । तर जनमोर्चाको केन्द्रीय समितिले अविस्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेपछि उनी पछिल्लो समय मौन छन् ।
मुख्यमन्त्रीले यहि कमजोरीमा खेलेर विपक्षमा बहुमत पुग्न नदिने रणनीति तय गरेका छन् । सकभर आफ्नै नेतृत्वमा सरकार बनाउन प्रयास गर्ने, नभए विपक्षमा बहुमत पुग्न नदिएर बहुमतीय सरकार बन्ने समय कटाउने उनको रणनीति रहेको श्रोत बताउँछ । त्यसपछि भने ठूलो दलको हैसियतले अल्पमतको सरकार बनाउने मुख्यमन्त्री गुरुङको रणनीति छ ।
तर नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली (पोखरेल) नया सरकार कांग्रेसको नेतृत्वमा बन्ने दाबी गर्छन् । त्यसका लागि पहिले नै दलहरु सहमत भइसकेकाले बहुमतको सरकार बन्न समस्या नहुने उनको भनाई छ । ‘हामी त पहिलेदेखि नै तयार छौं, अब सबै दलसँग छलफल गरेर बहुमतीय सरकारका लागि पहल गर्छौं’–उनले भने ।
नेकपा माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले सबै षडयन्त्रहरुलाई चिर्दै नया सरकार बनाउने दाबी गरेका छन् । अविस्वास प्रस्ताव पक्षधर चार दल नया सरकार बनाउन प्रतिबद्ध रहेकाले बहुमतीय सरकार बन्नेमा कुनै शंका नरहेको उनको दाबी छ । नया सरकार बनाउन जनमोर्चालेपनि सघाउँछ,उनले भने,‘अविस्वास प्रस्तावको पक्षमा मतदान गर्छु भन्नु नया सरकार बनाउन सहयोग गर्छु भन्नुपनि हो, त्यसैले नया सरकार बहुमतकै बन्नेमा कुनै शंका छैन ।’
चुमानले मुख्यमन्त्री गुरुङले राजिनामा दिएर संसद छल्न खोजेको आरोपसमेत लगाए । ‘अल्पमतमा पर्ने देखेर पहिल्यै राजिनामा दिएर मुख्यमन्त्रीले संसद छल्न खोजे, यो राम्रो भएन’–उनले भने ।
राष्ट्रिय जनमोर्चा संसदीय दलका नेता कृष्ण थापा भने नया परिस्थितिमा नया तरिकाले अघि बढ्ने बताउँछन् । हिजोसम्म अविस्वास प्रस्तावको पक्षमा उभिएका थियौं, तर अहिले नया परिस्थिति सिर्जना भएकाले यसमा छलफल गरेपछि मात्रै भन्न सकिन्छ’–उनले भने । उनले अविस्वास प्रस्तावको पक्षमा उभिएका आधारमा नया सरकारमा पनि समर्थन गर्छ भनेर बुझ्नु गलत हुने बताए । ‘हिजोको निर्णयमा पनि समस्या देखा परेकै हो, फेरिपनि समस्या देखा नपर्ला भनेर भन्न सकिन्न, माथिको निर्णय मात्रै लागु हुन्छ भन्नेपनि होइन, हामी पनि बसेर छलफल गरेर टुंगोमा पुग्छौं’–उनले भने ।
काम गर्ने वातावरण नभएपछि राजिनामा दिएँ : मुख्यमन्त्री
मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले काम गर्ने वातावरण नभएपछि पदबाट राजिनामा दिएको बताएका छन् ।
राजिनामासँगै एक वक्तव्य जारी गर्दै मुख्यमन्त्री गुरुङले देशमा स्थिरता नचाहने, विकास विरोधी तत्वहरुको अराजनीतिक चलखेलका कारण काम गर्ने वातावरण नभएपछि राजिनामा दिएको बताएका हुन् ।
मुख्यमन्त्री गुरुङले हिजोसम्म सहकार्य गरेका र एउटै घोषणा पत्रमार्फत निर्वाचनमा गएका दलहरुबाटसमेत असहयोग गर्दा काम गर्ने वातावरण नबनेको उल्लेख गरेका छन् । उनले एउटै मोर्चाबाट चुनाव लड्ने, सरकारमा बस्ने र अहिले बञ्चरो प्रहार गर्ने काम गरेको बताउँदै अगाडि भनेका छन्,‘एउटै चुनावी मोर्चावाट लड्ने, एउटै घोषणापत्रवाट प्रतिज्ञा गर्ने, सरकारमा बस्ने अनि अहिले आएर बञ्चरो प्रहार गर्ने प्रबृति लोकतन्त्र, संङघीयता र गणतन्त्रका लागि हानी पु¥याउने प्रवृति हो । हामीलाई थाहा छ बञ्चरोले बिर्सन त सक्ला सयौं चोट पाएको रुखलाई जीवनभर आफ्नो चोटको याद हुनेछ ।’
मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशका जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्ने र एमालेलाई सरकार सञ्चालन गर्ने म्याण्डेट दिएपनि कांग्रेसले जनमत अनुसार व्यवहार नगरेको गुनासो गरेका छन् । त्यस्तालाई जनताले दण्डित गर्ने भन्दै उनले भनेका छन्, ‘तर पनि हाम्रो पार्टी नेकपा (एमाले) र हामी फल दिइरहने वृक्ष हौं, शीतलता पनि दिएका छौ र दिइरहने छौ तर जनताका बैरीलाई जनताले चिनेका छन् र उनैले दण्डित गर्नेछन् । लोकतन्त्रमा सबै खराबीहरुको उपचार जनताबाट हुनेछ ।’
प्रदेश प्रमुखद्वारा नया सरकार गठनका लागि आह्वान
प्रदेश प्रमुख सीता पौडेलले नया सरकार गठनका लागि आह्वान गरेका छन् ।
मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको राजिनामा स्वीकृत गरेलगत्तै प्रदेश प्रमुख पौडेलले नया सरकार गठनका लागि आह्वान गरेकी हुन् ।
उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम ३ दिन भित्र सरकार गठनका लागि आह्वान गरेकी छन् । साथै नया सरकार गठन नभएसम्मका लागि वर्तमान सरकारलाई नै नेपालको संविधानको धारा १६९ को उपधारा (३) बमोजिम कामचलाउका रुपमा काम गर्न आग्रह गरेकी छन् ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा ।पर्यटन राजधानी पोखराको सार्वजनिक यातायात प्रणालीलाई आधुनिक, प्रविधिमैत्री र वातावरण अनुकूल…







