पवित्र र शक्तिशाली शब्द ‘आमा’

- मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन। आजको दिन आमालाई सम्झने र सम्मान गर्ने दिन। आमाले गरेका महान र कष्टपूर्ण कामहरुको सम्झना गर्ने दिन। आदर र सम्मानसहित आमालाई मिठो खुवाएर र राम्रो लगाउन दिएर आमाबाट आशिर्वाद ग्रहण गर्ने दिन। आमा नभएकाहरुले पनि मातृत्वको स्मरण गर्ने दिन।


     एभरेस्ट आवाज    
     वैशाख २८ गते २०७८ मा प्रकाशित




आज वैशाख कृष्ण पक्षको औँसी। मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन। हरेक वर्षको यस वैशाख कृष्ण पक्षको औंसीको दिनमा आमाको महत्व र महिमा सहित आमाको मुख हेर्ने गरिन्छ। आजको दिन आमाप्रति सम्मान गर्ने र आमालाई सम्झिने दिन समेत हो।

शास्त्रहरुमा आमालाई उच्चस्थानमा राखेको पाइन्छ। श्रद्धा, भक्ति, सम्मान र आदर गरेर आमालाई मीठो खान तथा राम्रो लगाउन दिई छोराछोरीहरूले आमाबाट शुभ–आशिर्वाद ग्रहण गरेर मातातीर्थ औंसी मनाइने र आमाको मुख हेर्ने चलन छ।

आजको दिन दिन आमाले गरेका महान र कष्टपूर्ण कामहरूको सम्झना गरिन्छ। आमा नभएकाहरूले पनि आमाको आत्माको मुक्तिको कामना गर्दै आज श्राद्ध तर्पण गरी मातृत्वको स्मरण गर्छन्।

आज काठमाडौं उपत्यकाका नेवार समुदायले भने भक्तपुरको हनुमानघाट पुगी आमाको सम्झनामा परम्परा अनुसार श्राद्ध तर्पण गर्छन्।

त्यस्तै, मातातीर्थ औँसीका दिन काठमाडौंको थानकोट नजिकै अवस्थित मातातीर्थमा धुमधामका साथ मेला लाग्ने गर्छ। तीर्थाटनमा सहभागीहरूले मातातीर्थ कुण्डमा स्नान गर्छन्।

जनश्रुति अनुसार, पहिले मातातीर्थमा गोठालाहरूले गाईबस्तुहरू चराउने मैदान थियो। एक दिन त्यो मैदानमा एउटा गोठालाले फ्याँकेको रोटीको टुक्रा अनाचक हराउन पुग्यो। त्यो घटनाले गोठालाहरू अचम्मित भए। गोठालाहरूले पुनः अरु रोटीका टुक्राहरू पनि फ्याँके। ती टुक्राहरू क्रमशः हराउँदै गए। ती गोठालाहरूमध्ये एउटाको आमा थिइन् भने अरुका आमा थिएनन्। तर, आमा हुने गोठालाले फालेको रोटीको टुक्रा भने हराएनन्।

आमा नहुने गोठालाहरूले फ्याँकेका रोटीका टुक्रा मात्रै गायब हुन्थे। उक्त दिन बैशाख कृष्णपक्ष औँसी थियो। यो कुरा अरु गाउँलेहरूले पनि थाहा पाए। गाउँलेहरूले उक्त दिन मृत्यु भइसकेका आमाले छोराछोरीले दिएका चिज खाँदा रहेछन् भन्ने विश्वास गरे। हरेक वर्ष उक्त औँसीका दिन मातातीर्थको चौरमा आमाको मृत्यु भइसकेकाहरूले अनेकन मिष्ठान भोजन लागि चढाउन थाले। पछि त्यहाँ एउटा कुण्ड समेत बनाइयो र मातातीर्थका नामले प्रचलनमा ल्याइयो।

यसरी हरेक वर्ष आमा नहुनेहरूले मातातीर्थमा गई त्यहाँको कुण्डमा नुहाउने र मृतक आमाका नाममा मीठा–मीठा खाद्य पदार्थ चढाउने प्रचलन कायम भयो। आमाप्रतिको श्रद्धास्वरूप मातातीर्थमा ‘साझा आमा’ को मूर्ति समेत स्थापना गरियो।

गत वर्षदेखि विश्वव्यापी रुपमा कोभिड–१९ को महाव्याधीले विश्वलाई नै आक्रान्त बनाएको छ। नचाहेर पनि महाव्याधीकै कारणले आमा र आफ्ना सन्ततीहरुलाई टाढा बनायो। यस वर्ष पनि महाव्याधीको संक्रमण दर अझै तीब्र गतिले बढ्दो छ।

संक्रमणकै कारण कतिपय सन्ततीहरुले महान आमाहरुलाई गुमाउँदाको पीडा ताजै छन्। कतिपय आमाहरुले सन्तती गुमाउँदाको पीडा अझ दर्दनाक छन्।

महाव्याधीकै कारण देश अहिले निषेधाज्ञामा जकडिएको छ। गत वर्ष जस्तै यस वर्षको मातातीर्थ औंसीले कतिपय आमा र उनका सन्ततीहरुलाई भौतिक दूरीमै सीमित राख्नेछ।

सम्मान र आदरका साथ आफ्ना आमाहरुलाई मिठो खान, राम्रो लगाइदिन र आमाबाट आशिर्वाद ग्रहण गर्नबाट कतिपय छोराछोरीहरु बञ्चित हुनुपर्ने अवस्था छ।

महाव्याधीबाट सतर्क रही, स्वास्थ्य मापदण्ड अपनाई नजिक रहेको आफ्ना आमाहरुलाई उच्चस्थान राखेर श्रद्धा, भक्ति, सम्मान र आदर सहितको मीठो खान तथा राम्रो लगाउन दिएर छोराछोरीहरूले आमाबाट शुभ–आशिर्वाद ग्रहण गर्न सकिन्छ। यद्यपी, परै रहेको छोराछोरीले पनि फोन वा सामाजिक सञ्जालमार्फत आमाको स्वर र आवाज सुन्न सकिन्छ।

अबका वर्षहरुमा हरेक आमाबाबुहरुको छोराछोरीहरु सुरक्षित रहुन्। हरेक छोराछोरीहरुको आमाबाबाुहरु सुरक्षित रहुन्। सबै आमाबाबुहरुले आफ्ना छोराछोरीहरुलाई आशिर्वाद प्रदान गर्ने अवसर मिलिरहोस। हरेक छोराछोरीहरुले आफ्ना आमाबाबुहरुबाट आशिर्वाद ग्रहण गर्ने अवसर मिलिरहोस।

पवित्र र शक्तिशाली रुपमा सम्बोधन गरिने शब्द ‘आमा’ हो। सबै आमाहरुप्रति नमन। जय मातातीर्थ औंसी।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।