नेकपा एमालेका नेता पशुपति चौलागाईंको कोरोना संक्रमणबाट निधन भएको छ ।
वागमती प्रदेशसभा सदस्य समेत रहेका चौलागाईँको उपचारका क्रममा मंगलबार साँझ मनमोहन मेमोरियल अस्पतालमा निधन भएको हो।
एमाले स्थायी कमिटी सदस्य तथा लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलगायतका एमाले नेताले चौलागाईंको निधनको पुष्टि गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्।
दोलखा ’ख’ बाट वागमती प्रदेशसभा सदस्यमा निर्वाचित नेता चौलागाई एमालेका पोलिटब्युरो सदस्यसम्म बनेका थिए। चौलागाई एमाले निकट युवा संघका पूर्व अध्यक्ष समेत हुन् । उनी नेकपा एमालेको साबिक बागमती अञ्चलको इन्चार्ज समेत थिए।
चौलागाई दोलखाबाट २ पटक संघीय संसदको सांसद निर्वाचित भएका थिए। उनी २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा दोलखा १ बाट निर्वाचित भएका थिए। त्यस्तै २०७० को संविधानसभा चुनावमा समानुपातिक कोटाबाट उनी निर्वाचित भएका थिए। विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका उनी एमालेका प्रभावशाली नेतामा गनिन्थे।
चौलागाईंले वैशाख २१ गते सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका थिए। केही दिन होम आइसोलेसनमा बसेका उनी स्वास्थ्यमा थप जटिलता देखिएपछि अस्पताल भर्ना भएका थिए।
चौलागाईंका श्रीमती, एक छोरा र दुई छोरी छन् । श्रीमती र एक छोरीलाई पनि कोरोना पोजेटिभ देखिएका कारण उनीहरु होम आइसोलेसनमा छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५ स्थित चैनपुर जङ्गल…






