विश्वकप छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि ३२ खेलाडी छनोट


     एभरेस्ट आवाज    
     जेठ ३ गते २०७८ मा प्रकाशित




तस्बीर: एजेन्सी

अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्वकप छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रशिक्षणका लागि खेलाडी छनोट गरेका हुन्।

नेपाल सुपर लिग सकिएको भोलिपल्ट आइतबार प्रशिक्षक अब्दुल्लाहले खेलाडीको नयाँ सूची सार्वजनिक गरेका हुन्। आगामी महिना इराकसँग हुने मैत्रीपूर्ण खेल तथा विश्वकप छनोट खेलका लागि नेपाली टोलीले बुधबारदेखि प्रशिक्षण थाल्ने एन्फाले जनाएको छ।

नेपालले इराकसँगको मैत्रीपूर्ण खेलपछि फिफा विश्वकप छनोट र एसियन कप छनोटका लागि खेल्नेछ। छनोटमा नेपालले अष्ट्रेलिया, जोर्डन र चिनियाँ ताइपेइसँग प्रतिस्पर्धा गर्नेछ।

बन्द प्रशिक्षणमा समावेश गरिएका खेलाडीमध्ये गोलरक्षकमा किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की छन्।

डिफेन्डरमा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, रजिन धिमाल, गौतम श्रेष्ठ, निशान खड्का, अमित तामाङ, सुमन अर्याल र विकास खवास छन्।

मिडफिल्डरमा विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, नितिन थापा, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे, सुमन लामा, सुनिल बल, सुरज ठकुरी, पुजन उपरकोटी, आयुष घलान, विवेक बस्नेत र रवि पासवान छन्।

फरवार्डमा भरत खवास, अभिषेक रिजाल, अञ्जन विष्ट, दर्शन गुरुङ, नवयुग श्रेष्ठ र आशिष लामा छन्।

५ खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा, विकेश र तेज बाहिरिए

नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणका लागि ५ जना नयाँ खेलाडीले डेब्यु गरेका छन्। एन्फाले बोलाएको बन्द प्रशिक्षणमा सुरजजिउ ठकुरी, कमल थापा, गौतम श्रेष्ठ, आयुष घलान र मनीष डाँगी पहिलोपटक टिममा परेका हुन्।
उनीहरुले राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा स्थान बनाउँदा टिमका नियमित सदस्य गोलकिपर विकेश कुथु र मिडफिल्डर तेज तामाङ टिमबाट बाहिरिएका छन्। कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बन्द प्रशिक्षणका लागि छनोट गरेको ३२ खेलाडीको सूचीमा विकेश र तेजलाई बोलाएनन्।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।